रवि लामिछाने रुपन्देही जिल्ला अदालतमा उपस्थित भए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछाने रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका छन् ।
बिहीबार थुनछेक बहसका लागि रवि रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका हुन् ।
सुप्रिम सहकारीकाे रकम अपचलनमा प्रतिवादी बनाइएका लामिछानेसँग बुधबार बयान लिएर परिवारको जिम्मा लगाइएको थियो । न्यायाधीश प्रह्लादकुमार योगीले लामिछानेको बयान लिएका थिए ।
बहसपछि रविलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश गर्नेछ ।
लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी गरेको आरोपमा गएको आइतबार रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको थियो ।
लामिछानेसहित २२ जनाविरुद्ध ६ माघमा पूरक अभियोजन दर्ता भएको थियो । उनीहरुलाई ठगी र संगठित अपराध कसुरको मुद्दा लगाइएको छ ।
लामिछानेसहित २२ जनाविरुद्ध १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको अभियोग छ । यसमा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गीतेन्द्रबाबु राई (जीबी)लाई पनि विपक्षी बनाइएको छ ।
रुपन्देही अदालतमा दर्ता गरिएको अभियोगपत्रमा सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडियामा लगिएको उल्लेख छ ।

प्रतिक्रिया