शुक्रबार, माघ २५, २०८१

‘जलवायुमैत्री कृषि प्रणाली आवश्यक’

नेपालखोज २०८१ माघ १० गते १८:५७

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले जलवायु परिवर्तनको असरका कारण खाद्यसुरक्षामा चुनौती देखिएको र भोकमरी अन्त्यको लक्ष्य कार्यान्वयनमा चुनौती देखिएको बताएका छन् ।

Advertisement

ग्रामीण पुनःनिर्माण नेपाल (आरआरएन) ले आज यहाँ आयोजना गरेको नेपालमा खाद्य र खाद्य सम्प्रभूतासम्बन्धी राष्ट्रिय बहसमा मन्त्री अधिकारीले समावेशी, उत्थानशील र जलवायुमैत्री खाद्य प्रणाली विकासका लागि सहकार्य आवश्यक रहेकामा जोड दिएका हुन् ।

जलवायुजन्य बढ्दो सङ्कटका कारण कृषि क्षेत्रमा सबैभन्दा बढी प्रभाव पर्नसक्ने उल्लेख गर्दै उनले बढ्दो समस्यासँग जुध्ने उपायको खोजी गर्नुपर्ने र जलवायुमैत्री कृषि प्रणाली अपनाउन आवश्यक रहेको बताए ।

‘जलवायु परिवर्तनका कारण खाद्य उत्पादनमा ह्रास आउन थालेको छ । खाद्य सुरक्षा र पोषणको समाना गर्नुपरेको छ’, मन्त्री अधिकारीले भने, ‘खाद्य सुरक्षा र खाद्य सम्प्रभूतासम्बन्धी कानुन कार्यान्वयनको अवस्थाबारे चालु आर्थिक वर्षमा अनुसन्धान सम्पन्न गर्नेछौँ । समस्या समाधानमा आवश्यक पहल पनि गर्नेछौँ ।’

उनले लक्षित घरधुरी पहिचान गरेर खाद्य सहायता परिचयपत्र उपलब्ध गराउने र राष्ट्रिय खाद्य परिषद्को गठन छिट्टै गर्ने तथा कृषिमा लगानीको दशक सफल बनाउने प्रयास भएको बताए । मन्त्री अधिकारीले खाद्य अधिकार तथा खाद्य सम्प्रभूतासम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयनका लागि समन्वय आवश्यक रहेको बताए ।

प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुमदेवी थापाले खाद्य प्रणाली समानतामा आधारित र दिगो बनाउन आवश्यक रहेको बताए । रासस

प्रतिक्रिया