प्रजातन्त्र सेनानी सिंहको निधनप्रति सभापति देउवाद्वारा दु:ख व्यक्त

नेपालखोज २०८१ माघ ११ गते १६:२३

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञ सभाका पूर्वसदस्य एवं प्रजातन्त्र सेनानी भगवती सिंहको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाका तर्फबाट पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी रुपन्देहीका सिंहको निधनप्रति दुःख व्यक्त गरेका हुन् । सभापति देउवाले स्व सिंहप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामना साथ शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नातर्फबाट गहिरो समवेदना प्रकट गरे ।

रूपन्देही जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ रोहिणी गाउँपालिका–७ निवासी सिंह विसं १९९० मा जन्मनुभएको हो । स्व सिंह विसं २०३९, २०४४, २०४९ र २०५४ को स्थानीय तहको निर्वाचनमा साबिक पजरकट्टी गाविसको अध्यक्षमा निर्वाचित भएका थिए ।

विसं २०५४ देखि २०५६ सम्म उहाँ रूपन्देही निर्वाचन क्षेत्र नं १ को क्षेत्रीय सभापति थिए । नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालमा प्रजातन्त्र स्थापना र पुनः स्थापनाका आन्दोलन तथा सङ्घर्षमा उनले सक्रिय भूमिका निर्वाह गरेका थिए । उनको निधनबाट नेपाली कांग्रेसले एक अग्रज र अनुभवी व्यक्तित्वलाई गुमाएको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया