पौवादुङमाद्वारा किसानलाई उन्नत जातको गाई वितरण

नेपालखोज २०८१ माघ १४ गते १०:०२

भोजपुर । पौवादुङमा गाउँपालिकाले दूधमा आत्मनिर्भर बन्दै किसानलाई आयआर्जनमा जोड्न उन्नत जातको गाई वितरण गरेको छ । यहाँका पशुपालनका लागि उपयुक्त मानिने तीन वडाका ७५ किसानलाई पहिलो चरणमा उन्नत जातको गाई वितरण थालेको हो ।

गाउँपालिकाको ५० प्रतिशत अनुदानमा किसानसँगको सहकार्यमा उन्नत जातका गाई वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । यो कार्यक्रमअन्तर्गत गाउँपालिकाले रु ५० लाख बजेट विनियोजन गरेर गाई वितरण गरिरहेको उनको भनाइ छ ।

किसानलाई उद्यमसँग जोड्न यो कार्यक्रमले टेवा पुग्ने उनले बताए । ‘यहाँका किसानलाई उन्नत जातका गाई वितरण गरेका छौँ, प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भने, पहिलो चरणमा तीन वटा वडामा ७५ वटा गाई वितरण गर्ने लक्ष्य छ । महिला उद्यमीलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।’ मुख्यरुपमा पशुपालनको लागि उपयुक्त रहेको वडा नं १ श्यामशिला, वडा नं २ तिवारीभज्ञ्याङ र वडा नं ३ च्याङ्गेका किसानलाई गाई वितरण गरिएको हो ।

गाउँपालिकाले दुग्ध ‘मिसन कार्यक्रम’नै सञ्चालन गरेर किसानलाई प्रोत्साहन गरिरहेको गाउँपालिका अध्यक्षल किरण राईले बताए । गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाएर किसानलाई आयआर्जनमा जोड्न उन्नत जातका गाई वितरण गरिएको उनको भनाइ छ । विगतका वर्षहरुमा किसानलाई उन्नत जातको भैँसी वितरण कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष राईले जानकारी दिए । किसानलाई आर्थिकरुपमा सक्षम बनाउँदै गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्यले उन्नत जातका गाई वितरण गरेका छौँ, अध्यक्ष राईले भने, यसअघि हामीले किसानलाई उन्नत जातको भैँसी दिएका थियौँ । त्यो कार्यक्रम सफल भएको छ । यस पटक हामीले उन्नत जातका गाई वितरण गरेका छौँ ।

अहिले किसानले उत्पादन गरेको दूध सदरमुकामसम्म पुग्न थालेको अवस्था छ । गाउँपालिकाले सामूहिक खेती तथा बाँझो जमिनको सदुपयोग गर्ने किसानलाई प्रोत्साहन गर्ने नीति लिएको अध्यक्ष राईले बताए । भौतिक पूर्वाधारसँगै कृषिको क्षेत्रमा योजनाबद्ध रुपमा काम गरिरहेको अध्यक्ष राईको भनाइ छ । हामीले किसानलाई आयआर्जनसँग जोड्ने कार्यक्रममा ध्यान दिएका छौँ, अध्यक्ष राईले भने, पोषनसँगै किसानलाई रोजगारमुखी बनाउने लक्ष्यका साथ अघि बढेका छौँ । बाँझोको जमिन सदुपयोग गर्ने र सामूहिक खेतीमा लाग्ने किसानलाई प्रोत्साहनको नीति लिएका छौँ ।

प्रतिक्रिया