मंगलबार, असार १०, २०८२

आठौं चेम्बर एक्स्पो माघ १७ देखि

नेपालखोज २०८१ माघ १४ गते १७:५३

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शको आयोजनामा आठौँ संस्करणको चेम्बर एक्स्पो, २०२५ यही माघ १७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेभएको छ ।

अन्तर्राष्ट्रिय स्तरका सफ्टवेयर र आर्टिफिसियल इन्टेलिजेन्सी (एआई) परियोजनासहित एक्स्पो आयोजना हुन लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

स्थानीय उत्पादनको प्रबर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले बताए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रको सहकार्यमा एक्स्पो आयोजना गर्न लागिएको हो ।

एक्स्पोमार्फत नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिँदै व्यावसायीक क्षेत्रलाई एकीकृत गर्ने उद्देश्य लिइएको उनको भनाइ छ ।

चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालको सूचना प्रविधि उद्योगलाई अन्तर्राष्ट्रिय आईटी कम्पनीको ‘ब्याकअप’का रुपमा विकास गरिनुपर्नेमा जोड दिए ।

व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रका कार्यकारी प्रमुख शरद विक्रम राणाले देशभित्र खपत हुने सफ्टवेयरको प्रयोग गर्दा आन्तरिक उत्पादन एवं प्रतिस्पर्धाकै आधारमा चयन गरिनुपर्नेमा जोड दिए ।

क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक गतिविधि, प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामलाई नजिकबाट नियाल्न एक्स्पो सहयोगी हुने एक्स्पो समितिका सभापति राष्ट्रभुषण चाकुबजीले बताए ।

चेम्बर अफ कमर्शका सूचना प्रविधि समति सभापति विज्ञान श्रेष्ठले एक्स्पोमा यसपटक आईटी उत्पादनहरुलाई उच्च प्राथमिकतामा राखिएको बताए । रासस

प्रतिक्रिया