चार दिनदेखि महाकाली लोकमार्ग अवरुद्ध

दार्चुला । सदरमुकाम खलङ्गा जोड्ने एक मात्र महाकाली लोकमार्ग चार दिनदेखि अवरुद्ध भएको छ । सदरमुकाम नजिकै रहेको महाकाली नगरपालिका–५ किम्तडीको ठड्याकाटा भीरमा सडक अवरुद्ध भएको हो ।
शुक्रबार सडक चौडा बनाउने क्रममा पहिरो खसेको थियो । पहिरोमा परी स्काभेटर चालक रेशम बुढामगर गम्भीर घाइते भएका थिए ।
उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत धनगढी लगिएको थियो । एक मात्रै मुख्य राजमार्ग अवरुद्ध बनेपछि साना तथा ठूला सवारीसाधन दुईतर्फ रोकिएका छन् ।
धनगढी, महेन्द्रनगर, काठमाडौँबाट आउने बस तथा जीप किम्तडीबाट फर्किरहेका छन् । साथै मालवाहक ट्रक पनि रोकिएका छन् ।
खलङ्गामा रोकिएका बस, जिप बसपार्कमा थन्किएका छन् । एम्बुलेन्स पनि चल्न पाएका छैनन् । वैकल्पिक मार्ग नहुँदा खलङ्गासम्मको आवतजावत ठप्प भएको जनाइएको छ । सो लोकमार्ग अवरुद्ध हुँदा सदरमुकाम खलङ्गा अध्ययन गर्न आउने बालबालिका जोखिममा छन् । रासस

प्रतिक्रिया