आठौँ चेम्बर एक्स्पो माघ १७ देखि २१ गते सम्म भृकुटीमण्डपमा

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौँ चरणको ‘चेम्बर एक्स्पो २०२५’ काठमाडौंको भृकुटीमण्डपमा आगामी बिहीबार देखी सुरु हुँदै छ । अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयर एन्ड एआई प्रोजेक्ट सहित आठौँ नेपाल चेम्बर भ्ह्एइ माघ १७ देखि २१ गते सम्म चल्ने आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।
चेम्बर मेलामा स्थानीय उत्पादनको प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्य रहेको चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बताए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँङको सहकार्यमा चेम्बरले अन्तर्राष्ट्रिय स्तरको व्यापार मेला गर्न लागेको हो ।
नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यवसायी क्षेत्रलाई एकीकृत गर्ने मुख्य उद्देश्य रहेको अध्यक्ष अग्रवालको भनाई छ । सूचना प्रविधिको विकाससङै चेम्बर एक्स्पोको आकर्षणका रूपमा यो वर्ष सफ्टवेयर एन्ड एआई प्रोजेक्ट स्टलका रूपमा रहनु सबैभन्दा महत्त्वपूर्ण रहेको अध्यक्ष अग्रवालले बताए ।
चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालको सूचना प्रविधि उद्योगलाई अन्तर्राष्ट्रिय आइटी कम्पनीको व्याकअपका रूपमा विकास गरिनुपर्नेमा जोड दिए । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी प्रमुख शरद विक्रम राणाले देश भित्र खपत हुने सफ्टवेयरको प्रयोग गर्दा आन्तरिक उत्पादन एवं प्रतिस्पर्धाकै आधारमा चयन गरिनुपर्नेमा जोड दिए ।
क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक गतिविधि, प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामलाई नजिकबाट नियाल्न सहयोग पुग्ने चेम्बर मेला समितिका सभापति राष्ट्र भूषण चाकुबाजीले जानकारी दिए । चेम्बर अफ कमर्सको सूचना प्रविधि समिति सभापति विज्ञान श्रेष्ठले चेम्बर एक्स्पोमा यो पटक आइटी उत्पादनलाई उच्च प्राथमिकतामा राखिएको बताए ।
विगतमा झैँ यस वर्ष पनि एक्स्पोमा कृषिजन्य वस्तु, हस्तकला, लत्ता कपडाका सामान, अटोमोवाईल, इलेकट्रोनिक्स होम एप्लायन्स, लगिस् टिक टेक्सटायल, फर्निचर, गार्मेन्ट, लेदर गुड्स, ज्वेलरी, कस्मेटिक, फुड एन्ड डेरी प्रोडक्टस आदी सामग्रीको प्रदर्शनीले आगन्तुकका लागि एक्सपो एउटा उपयुक्त आकर्षण बन्न सक्ने विश्वास गरिएको छ । चेम्बर एक्स्पोमा नेपाल, बंग्लादेश, भारत, चीन, थाइल्यान्ड, युएई, दक्षिण कोरिया, मलेसिया, पाकिस्तान लगायतका देशमा उत्पादित बस्तुको प्रदर्शनी र व्यवसायीले सहभागिता जनाउनेछन् ।
स्वदेशी र विदेशी गरी १२५ भन्दा बढी स्टल एक्स्पोमा राखिनेछन् । ५ दिन सम्म चल्ने एक्स्पो कम्तीमा ५० हजार दर्शकले अवलोकन गर्ने आयोजक नेपाल चेम्बर अफ कमर्सका मेला समिति संयोजक चाकुबाजीले बताए । चेम्बर मेलामा ब्युटी पार्टनरको रूपमा डीएचसी, इन्स्योरेन्स पार्टनरको रूपमा प्रभु इन्स्योरेन्स, इन्टरनेट पार्टनरको रूपमा वर्ल्ड लिङ्क, तथा एजुकेसन पार्टनरका रूपमा सफ्टवेरिका कलेज सनवे कलेज रहेका छन् ।
अटो पेवेलियन, स्वदेशी खानाको परिकार र बालबालिकाका लागि प्ले जोन पनि राखिने एक्स्पोको व्यवस्थापन गरिरहेको इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्रालीले उल्लेख गरेको छ ।

प्रतिक्रिया