समृद्ध राष्ट्र निर्माणका लागि सहिदको साहस सबैका लागि प्रेरणा : उपराष्ट्रपति

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वावलम्बी अर्थतन्त्रसहित सामाजिक तथा आर्थिक रुपमा सबल, सुदृढ र विकसितमुलुक निर्माणका लागि सहिदहरुको साहस सबैका लागि प्रेरणा भएको उल्लेख गरेका छन् ।
सहिद दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, समावेशिता, सबैखाले विभेद्को अन्त्य, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्नुहुने सहिदहरुलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।
उपराष्ट्रपति यादवले नेपालको पवित्र धर्तीमा कैयौंँ महान सपूतहरु/वीरवीरङ्गनाले जन्म लिएका र उनीहरुले लोकतन्त्र, समानता, पहिचान, सहअस्तित्व, सदाचार, सद्व्यवहार, समान अधिकारका लागि प्राणको आहूति दिएको बताए । उनले सहिदले हामीलाई एउटा स्वतन्त्र, समृद्ध र शान्त नेपाल निर्माण गर्न प्रेरणा प्रदान गरेको उल्लेख गरे ।
वीर सहिदहरुको बलिदान, त्याग, अदम्य साहस, वीरता र हौसलालाई स्मरण गर्दै उनीहरुप्रति हार्दिक श्रद्धासुमन, सम्मान र नमन गर्नका लागि हरेक वर्ष माघ १६ का दिन मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी सहिद दिवस मनाइन्छ । “सहिद दिवस हामीलाई सहिदको सम्झना मात्र गराउने दिन होइन, हामीलाई उहाँहरूको मार्गदर्शन र प्रेरणाले अघि बढ्न प्रेरित गर्ने दिन पनि हो”, उनले भनेका छन् ।
यस अवसरमा हामीले सहिदको सपना पूरा गर्न, न्यायपूर्ण र समानतामूलक समाज निर्माण गर्न र लोकतान्त्रिक मूल्यहरूको संरक्षण गर्न सङ्कल्प लिन सक्नुपर्ने उनले बताए । उनले देशको विकास, शान्ति, समृद्धि र अखण्डता राष्ट्रिय एकताबाटै सम्भव भएको समेत बताए ।
सहिदको सपना र आकाङ्क्षा साकार पार्न सके मात्र उनीहरुप्रतिको सच्चा श्रद्धाञ्जली अर्पण गरेको ठहरिने उल्लेख गर्दै उनले मुलुकको दिगो शान्ति, सुशासन, विकास, समृद्धिको आकाङ्क्षा पूरा गर्न सम्पूर्ण राजनीतिक दल, आमनागरिक समाजलगायत सबै दृढ सङ्कल्पका साथ लाग्नु आजको आवश्यकता भएको बताए ।
उपराष्ट्रपति यादवले सहिद दिवसका अवसरमा सहिदको आदर्श र मूल्यलाई आत्मसात गर्दै, एकताको भावनालाई थप सुदृढ र बलियो बनाउँदै देशको प्रगति, विकास र समृद्धिको लागि दत्तचित्त तथा एकाकार भई मिलेर काम गर्न आह्वान गरे ।

प्रतिक्रिया