प्रदेश प्रमुख, मुख्यमन्त्रीद्वारा अमर सहिदप्रति श्रद्धाञ्जली

काठमाडौं । देशको विकास र जनताका अधिकारका खातिर आफ्नो जीवन उत्सर्ग गरेका अमर सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मुलुकका उच्चपदस्थ महानुभावले सहिद दिवसका अवसरमा सन्देश जारी गरेका छन् ।
यसै अवसरमा सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि जीवन उत्सर्ग गरेका सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली जनतालाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न बनाउन इतिहासका विभिन्न कालखण्डमा आफ्नो अमूल्य जीवन बलिदान गरेका सहिदका सपना साकार पार्नेतर्फ लाग्नुपर्नेमा जोड दिए ।
यसैगरी, बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले इतिहासका विभिन्न कालखण्डमा देशका निम्ति आफ्नो प्राणको आहुती दिने ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहिदहरूको बलिदानको मर्मलाई बुझी समृद्ध नेपालको साझा सपना साकार पार्न जिम्मेवारीपूर्वक आ-आफ्नो कर्तव्यपालनमा सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।
त्यसैगरी, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नागरिक स्वतन्त्रता, लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि विभिन्न समयमा आफ्नो प्राण उत्सर्ग गर्नुहुने सम्पूर्ण वीर सहिदप्रति सम्मानका साथ हार्दिक श्रद्धासुमन अर्पण गरे ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि सहिदको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्नुुपर्ने बताउँदै देशमा स्वच्छ राजनीतिक संस्कारको विकास तथा आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्ने सोचसहित अघि बढ्नु नै सहिदप्रति सच्चा श्रद्धाञ्जली हुने उल्लेख गरेकाे छ ।
यसैगरी, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन, जवाफदेहिता र दिगो विकासबिना राष्ट्रिय लक्ष्य हासिल गर्न कठिन हुने बताउँदै विकासको लक्ष्य प्राप्तिका लागि सामूहिक प्रतिबद्धता जनाउनुपर्नेमा जोड दिए ।
आज जारी गरेका सन्देशमा उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै संविधानले परिकल्पना गरेका लक्ष्य प्राप्त गर्नु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए ।

प्रतिक्रिया