कोका-कोलाको नेपाल यात्रा

सुनिल उलक २०८१ माघ १६ गते १०:१८

बोलीचालीले कोक भनिने कोका-कोला विश्व बजारमा करिब १३९ वर्ष अगाडि सुरु भएको थियो । सन १८८६ मइ ८ तारिखका दिन डा. जोन पेम्बर्टनले आफ्नो औषधी पसल जाकोव्स फार्मेसीमा पहिलो पटक कोका-कोलाको स्वाद चखाएका थिए । उनले आफ्नो प्रयोगशालामा एक प्रकारको सिरप बनाए । उनले एक जग सिरप बनाए पछि आफ्नो फार्मेसी अगाडि बाटोमा हिँडिरहेका मानिसहरूलाई चखाए । सबैबाट प्रशंसा पाए पछि भोलिपल्ट देखि उनले प्रति गिलास ५ सेन्टमा बिक्री थाले । यसको नाम भने राखिएको थिएन । पछि डा. पेम्बर्टनले साथी फ्रांक रविन्सनसंग दुई वटा सी अक्षरबाट कुनै राम्रो नाम रोज्ने सुझाए । त्यसपछि नाम राखियो Coca Cola । नाम रोजिए पछि रविन्सनले आफ्नै हातबाट सुन्दर अक्षर लेखे । यो नाम र यो लेखाइ नै यसको वास्तविक पहिचान भयो । संसार भर कोका-कोला एउटै प्रकारले लेखिन्छ । अक्षरको लेखाइमा भिन्नता हुँदैन । वास्तवमा यो रविन्सनको हातको लेखाइको नमुना हो ।

यसरी शुरुमा ९ गिलास प्रत्येक दिनबाट बिक्री शुरु भएको कोका-कोला विश्वको हरेक उमेर तथा समुहका लागि प्रिय पेय भएको छ । यसको बिक्रीका लागि शुरुमा साधारण बोटलको प्रयोग गरिए पनि सन १९०० मा आइपुग्दा यसको बोटलको डिजाइन बिशेष रुपले गर्न थालियो । किनकी त्यसबेला सम्म अमेरिकाको प्रत्येक शहरमा यसको बिक्री शुरु भइसकेको थियो । र सबैको प्रिय भइसकेको थियो । सन १९१५ को अप्रिल २६ मा कोका-कोला कम्पनीले १० प्रमुख बोटल बनाउने कम्पनीहरुलाई उत्कृष्ट बोटलको डिजाइन गर्न र छाँटिएको डिजाइनकर्तालाई रु ५०० डलरको पुरस्कार राखियो । यसपछि बिभिन्न डिजाइनहरु संकलन गरिए । अन्तमा इन्डियाना प्रान्तमा रहेको रुट ग्लास कम्पनीले बनाएको डिजाइन रोजियो । हालसम्म पनि यहि बोटल नै प्रयोग भइरहको छ । यो बोटलको आकारलाई केहीले महिलाको शरिरको आकारसंग पनि तुलना गर्ने गर्दछन । महिलाको ३६-२४-३६ को मापनलाई नै यस बोटलका लागि प्रयोग गरेको भनिन्छ । तर कम्पनीले यसलाई स्विकार गरेको छैन ।

१८९६ देखि बिक्री थालेको कोका-कोलाका लागि पछि शुरु भएको पेप्सीले पनि ब्यापारमा प्रतिस्पर्धा गरेको थियो । अमेरिकामा दुइ दल रहेको छ – रिपब्लिकन र डेमोक्रेटिक । त्यस्तै कोक र पेप्सीको ब्यापारिक लडाइमा पनि यहिँ दुइ दलले साथ दिने गरेको छ । रिपब्लिकनका लागि कोकले र डेमोक्रेटिकका लागि पेप्सीले ।

विश्व बजारमा सर्वप्रिय भएको पेय पदार्थ भारतमा भने निकै ढिलो आइपुग्यो । सन १८९६ देखि नै कोका-कोला बिक्री हुँदै आइरहेको भारतीय बजारमा सन १९५६ मा मात्रै आफ्नै उत्पादन भारतमा शुरु भयो । भारत स्वतन्त्र भए पछि विश्व बजारलाई आकर्षित गर्ने नीति अनुरुप कोका-कोलाले पनि प्रवेश पाएको थियो । तर सन १९७४ मा भारतीय नीतिमा परिवर्तन ल्याए पछि कोका-कोला कम्पनीले ४० प्रतिशत शेयर भारतीयका लागि बेच्नु पर्ने भयो । यो शर्त मान्न कोका-कोला कम्पनी तैयार भयो तर सम्पूर्ण उत्पादन तथा प्रशासनिक अधिकार आफैमा राख्न चाह्यो । जसका लागि भारत सरकार तैयार भएन । यसै समय सरकार परिवर्तन भएर सन १९७७ मा जनता पार्टीको सरकार बन्यो । नीतिमा कुनै परिवर्तन भएन । कांग्रेस आइको नीतिमा जनता पार्टीको नयाँ सरकारले पनि समान निर्णय कायम राख्यो । जसले गर्दा भारत सरकारका तर्फबाट कोका-कोलालाई अन्तिम चेतावनी दिइयो । या त भारत छोडेर जानु या भारत सरकारका नीति अनुरुप रहनु । कोका-कोलाले आफ्नो अधिकार छोडेन बरु भारत नै छोडेर गयो ।

कोकलाई बिदाइ गरेपछि सोही वर्ष सन १९७७ मा भारतमा नयाँ थम्स अपले जन्म लियो । झट्ट हेर्दा कोक जस्तो लाग्ने थम्स अप भने भारतकै पारले इन्डियाले शुरु गरेको थियो । पछि सन १९९१ मा भारतले अन्तराष्ट्रिय कम्पनीहरुलाई अामन्त्रण

खुल्ला गरेपछि भारतमा पेप्सीले पहिले प्रवेश पायो । पछि कोकले थम्स अप नै किनेर भारत भित्रियो ।

यहि समय नेपालले पनि कोका-कोला बोटलमा भारतबाट नै मगाएर बिक्री गर्दै आइरहेको थियो । नेपालमा खेतान समुहले २०२६ सालमा राजा विरेन्द्रको शुभराज्याभिषेकका लागि नेपालमा कोका-कोला भित्राए पनि नेपाल सरकारसंगको अनुमति प्राप्त गरेर २०३० साल देखि बिक्री वितरण थालिएको थियो । । त्यतिबेला १ बोटलको १ रुपैया परेको थियो । खेतान समुहले भारतबाट १५०००० बोटल कोका-कोला मगाएर बेचिसकेको थियो । साथै नेपालका ब्यापारी खेतान समुहका मोहनगोपाल खेतानले राजपरिवारका सदस्य हेलेन शाहको सहयोगमा नेपालमा कोका-कोलाको उत्पादन गर्ने इजाजत पनि नेपाल सरकारबाट लिइसकेका थिए ।

भारतबाट कोका-कोला बाहिरिने भए पछि दक्षिण एशियामा उत्पादन केन्द्र खोज्दै थियो । यहि समय भारतीय ब्यापारी नकुल डी कमानी अप्रत्यक्ष रुपमा कोका-कोला नेपालमा उत्पादनका लागि सहयोग गर्न अगाडि आए । उनको सहयोगमा दिल्लीमा कोका-कोला कम्पनीले बन्द गरेको उद्योगमा रहेको मशिनहरु सस्तोमा नेपालमा रहेको बोटलर्स नेपालले खरिद गरेर २०३६ सालबाट नेपालमा कोका-कोलाको उत्पादन शुरु भयो ।

शुरुमा कोका-कोलाको मुल्य प्रति बोटल रु १.४० रहेको थियो । नेपालमा कोका-कोला उत्पादन शुरु भएको केही समयमा नै भारत सरकारको दवावमा नेपालमा उत्पादित कोका-कोला भारत लगायत दक्षिण एशियामा निर्यातमा प्रतिवन्ध लाग्यो । घुमाउरो बाटोबाट कोका-कोला भारत प्रवेश गर्न चाहेको थियो तर त्यो हुन दिइएन । पछि २०४१ सालमा नेपाल सरकारले भारत बाहेक अन्य मुलुक माथिको निर्यात प्रतिवन्ध फुकुवा गर्यो तर भारत माथिको प्रतिवन्ध भने यथावत नै रह्यो ।

बोटलर्स नेपालले आफ्नो उत्पादन प्लान्ट बालाजु औद्योगिक क्षेत्रमा राखेको थियो । यहाँको उद्योगको क्षमता ८० बोटल प्रति मिनेट थियो । लगानी पनि केवल १ करोड नेपाली रुपैया मात्र थियो । कोकाकोलाको डिलर मुल्य पनि निकै नाफामुलक थियो । २४ बोटलको रु २५ मा खरिद गरेर प्रति बोटल १.४० मा बिक्री गर्दा एक तिहाइ नै नाफा हुन्थ्यो । जसले गर्दा कोकाकोला बेच्न ब्यापारी हौसिन थाले । यसले बिक्री सोचे भन्दा बढी भयो ।

बालाजु उद्योगको सफलता पछि तराइ क्षेत्रमा सहज आपुर्तिका लागि बोटलर्स नेपाल (तराइ) लिमिटेडका रुपमा भरतपुरमा दोश्रो उद्योग स्थापना गरेको थियो । दुबै उत्पादन उद्योग शुरु देखि नै नाफामा चलिरहेको छ । स्वास्थ्यको दृष्टिकोणले कोकाकोलाका उत्पादनहरु पिउनु सहि या गलत आफ्नो ठाउँमा होला । तर उद्योगको हिसाबले भने सफल रहेको छ ।

तस्विरमा २०४० सालतिर मनाङ देखि उत्तर उच्च हिमाली भेगको पर्यटक पुग्ने होटल तर्फ कोकाकोला बोक्दै भरियालाई देख्न सकिन्छ ।

प्रतिक्रिया