प्रतिनिधिसभाको बैठकमा रास्वपाको अवरोध

काठमाडौं । प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो दिनको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अवरोध गरेको छ ।
आजको बैठक सुरु भएलगत्तै रास्वपाका सांसदहरुले उठेर विरोध जनाएका हुन् । सभामुख देवराज घिमिरेले कार्यसूचीमा अघि बढ्न सहयोगका लागि रास्वपा सांसदसँग अनुरोध गरेका थिए । आजको बैठकमा दलीय आधारमा समय निर्धारण गरेर विचार राख्ने व्यवस्था गरेकाले सोहीअनुसार बैठक सञ्चालनका लागि सहजीकरण गर्न उनले आग्रह गरेका थिए ।
बैठकमा सभामुख घिमिरेले रास्वपा सांसदहरुलाई बस्न पटकपटक अनुरोध गरेका थिए । तर पटकपटकको अनुरोध नमानेपछि सभामुख घिमिरेले बस्न आदेश दिए । तर सभामुख घिमिरेको आदेशको रास्वपा सांसदहरुले अटेर गरेका छन् ।
रास्वपा सांसदले आफ्ना कुरा राख्न आकस्मिक समयमा बोल्न पाउनुपर्ने माग राखेको छ भने सभामुख घिमिरेले सबै दलहरुलाई बोल्नका लागि दलीय आधारमा समय निर्धारण भएकाले तोकिएको सोही समयमा आफ्ना कुरा राख्न आग्रह गरे ।
त्यस्तै, नियमित बैठक र अधिवेशनको सुरुआती बैठकको फरकबारे पनि उनले ध्यानाकर्षण गराए । रास्वपा सांसदहरुको विरोधकै बीच आजको बैठक अघि बढेको छ ।

प्रतिक्रिया