‘खानेपानीको क्षेत्रमा देखिएका समस्या समाधान गरिने छ’

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीको क्षेत्रमा देखिएका समस्या दीर्घाकालीन रुपमा समाधान गर्न मन्त्रालय कटिबद्ध रहेको बताएका छन् ।
मन्त्रालयमा आज काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी अधिकृत ९सिइओ० तथा केयुकेएल कर्मचारी ट्रेड युनियनसँगको छलफल तथा बैठकमा उनले भने, ‘खानेपानीका क्षेत्रमा देखिएका समस्या समाधान गर्न मन्त्रालय आफ्नो क्षेत्रबाट लागिपरेको छ, आम नागरिकले सहजरुपमा खानेपानीको प्रयोग गर्न सक्ने गरी खानेपानीको व्यवस्थापन गरौँ ।’
सोही क्रममा मन्त्री यादवले काठमाडौं उपत्यकामा सहज रुपमा खानेपानी वितरण, लिकेज भएका पाइपलाइन मर्मत, खानेपानीका मिटर वितरण गर्ने लगायतका कार्य छिटो छरितो गर्न आग्रह गरे । उनले भने, ‘खानेपानीका लिकेज भएका पाइप लाइन चाँडो मर्मत गर्नुहोला, नागरिकले खानेपानीका मिटर नपाएको गुनासो गर्दै आएका छन्, मिटरहरुको चाँडो व्यवस्था गर्न मेरो आग्रह छ ।’
खानेपानी मन्त्रालय काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को अभिभावक भएकाले केयुकेएललाई सहज रुपमा पानी वितरण गर्ने कार्यमा मन्त्रालयले पूर्ण साथ र सहयोग गर्दै आएको तथा आगामी दिनमा पनि सम्पूर्ण सहयोग गर्ने मन्त्री यादवको भनाइ थियो ।
काठमाडौं उपत्यकासहित देशभरीका खानेपानीका समस्या समाधानका लागि मन्त्रालयले कदम चालिरहेको समेत उनले बताए । यसैगरी मन्त्री यादवले प्रमुख कार्यकारी अधिकृत ९सिइओ० तथा केयुकेएल कर्मचारी ट्रेड युनियनबीच आपसी मेलमिलामा रही नागरिकलाई खानेपानी पुर्याउने कार्यलाई निरन्तरता दिनसमेत आग्रह गरेका थिए ।

प्रतिक्रिया