गण्डकीमा चार अर्बभन्दा बढीको सुन्तला उत्पादन

नेपालखोज २०८१ माघ २१ गते १२:२०

गण्डकी । गण्डकी प्रदेशमा यस वर्ष चार अर्ब १७ करोड २७ लाख बराबरको सुन्तला उत्पादन भएको छ । कृषि विकास निर्देशनालयको प्रारम्भिक आँकडाअनुसार ६६ हजार पाँच सय ७८ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । प्रदेशका नौ जिल्लामा पाँच हजार सात सय तीन हेक्टरमा सुन्तला उत्पादन भएको निर्देशनालयका कृषि अर्थ विज्ञ मनोज पौडेलले जानकारी दिए ।

‘किसानले पाउने प्रतिकिलो सुन्तलाको औसत मूल्यका आधारमा यो वर्ष चार अर्बभन्दा बढीको सुन्तला उत्पादन भएको छ, उनले भने, ‘सबैभन्दा बढी स्याङ्जामा एक अर्ब ७१ करोड ६३ लाख ९० हजार बराबरको सुन्तला फलेको छ ।’ कृषि अर्थ विज्ञ पौडेलका अनुसार तनहुँमा ६४ करोड २० लाख, गोरखामा ४० करोड २० पर्वतमा ३८ करोड ३६ लाख, म्याग्दीमा ३४ करोड २१ लाख, बागलुङमा २६ करोड ४६ लाख, कास्कीमा २५ करोड ९६ लाख, नवलपुरमा १३ करोड ३९ लाख र लमजुङमा तीन करोड बराबरको सुन्तला उत्पादन भएको हो ।

यस वर्ष स्याङ्जामा १९ सय ५० हेक्टर, तनहुँमा नौ सय ६८ हेक्टर, गोरखामा सात सय ४६ हेक्टर, पर्वतमा चार सय ६५ हेक्टर, म्याग्दीमा चार सय २५ हेक्टर, बागलुङमा तीन सय ७७ हेक्टर, कास्कीमा पाँच सय ४१ हेक्टर, एक सय ६१ हेक्टर र लमजुङमा ८० हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन भएको हो । यस वर्ष ११ प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको निर्देशनालयले जनाएको छ । दुई वर्षअघि ५० हजार आठ सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएकामा यो वर्ष बढेर ६६ हजार पाँच सय ७८ मेट्रिक टन सुन्तला उत्पादन भएको हो ।

बर्सेनि सुन्तलाखेतीको क्षेत्रफल विस्तार पनि भइहेको छ । देशमै सबैभन्दा धेरै सुन्तलाखेती हुने स्याङ्जाले बर्सेनि उत्पादनको ठूलो हिस्सा ओगट्छ । गण्डकीमा मुस्ताङ र मनाङ जिल्लामा भने सुन्तलाखेती हुँदैन । किसानले पाउने प्रतिकिलो सुन्तलाको औसत मूल्य रु ६७ का आधारमा उत्पादनको कुल मूल्य निर्धारण गरिएको कृषि अर्थ विज्ञ पौडेलले जानकारी दिए । सुरुमा केही कम मूल्य परेपनि पछिसम्म बोट र चिस्यान केन्द्रमा राखेर बेच्ने किसानले सुन्तलाको भाउ बढाउँदै लैजान्छन् ।

जिल्लागत रुपमा पनि सुन्तलाको औसत मूल्य फरक–फरक रहेको छ । किसानको बगैँचाबाट बजारमा आएपछि पाउने बिक्री मूल्यको त लेखाजोखा नै नहुने निर्देशनालयले जनाएको छ । जिल्लाहरुले पठाएको प्रतिवेदन र आँकडा विश्लेषण गरेर प्रदेशभरिको उत्पादन सार्वजनिक गर्ने गरिएको हो । नयाँ बोटले फल दिन थाल्नु, उत्पादन क्षेत्र विस्तार, बगैँचाको सही व्यवस्थापन जस्ता कारणले सुन्तला उत्पादनमा बर्सेनि वृद्धि हुँदै आएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया