प्राविधिक शिक्षा आजको आवश्यकता छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्राविधिक शिक्षा आजको मुख्य आवश्यकता रहेको बताएका छन् । लमजुङको मर्स्याङ्दी गाँउपालिका-४ ताघ्रिङ, छापा गाउँमा रहेको प्रेम मिलन माध्यमिक विद्यालयको २९औँ वार्षिकोत्सव तथा रजतजयन्ती समारोहमा उनले युग सुहाउँदो शिक्षाका लागि अब पुरानो र परम्परागत शिक्षा नीति परिमार्जन गर्नुपर्ने बताए ।
‘सही शिक्षा नीति नहुँदा शिक्षामा गरिएको लगानीबाट सोचेअनुसार लाभ लिन सकिएको छैन । यसकारण परिवर्तित समयअनुसारको गुणस्तरीय शिक्षा र शिक्षा प्रणालीका लागि शिक्षा नीति परिमार्जन गर्नु अहिलेको आवश्यकता हो,’ मन्त्री गुरुङले भने ।
नेपाल सरकारका प्रवक्ता मन्त्री गुरुङले पढेर विदेश पलायन हुनेभन्दा पनि स्वदेशमै बसेर आत्मनिर्भर हुने खालको शिक्षा दिन आवश्यक रहेको भन्दै त्यसका लागि सूचना प्रविधिमैत्री शिक्षा अवलम्बन गर्न आग्रह गर्न आग्रह गरे । ‘अबका बालबालिकाले कम्प्युटर चलाउन जानेनन् भने अशिक्षितजस्तै हुन्छन् । सूचना प्रविधिबारे बुझ्न र बुझाउन जरूरी छ । सरकारले पनि शिक्षालाई सूचना प्रविधिमैत्री बनाउने प्रयास गरिरहेको छ,’ उनले भने ।
मन्त्री गुरुङले शिक्षामा सरकारले गरेको लगानीको प्रतिफलका लागि शिक्षक, अभिभावक र स्थानीय तहले गम्भीर बन्नुपर्ने धारणा राखे । सरकारले आवश्यक कानुन निर्माण र सुधारमा जोड दिएको भन्दै उनले सरकारले हालै ल्याएको अध्यादेश त्यसैको सुरुआत भएको र यसले जनताको हित हुने जिकिर गरे ।

प्रतिक्रिया