ऐतिहासिक टक्सारलाई सरंक्षणको खाँचो

भोजपुर । औद्योगिक, व्यापारिक र सांस्कृतिक क्षेत्रको पहिचान बनाएको ऐतिहासिक टक्सार बजार यतिबेला संरक्षणको पर्खाइमा छ । यहाँ बनेका कलात्मक शैलीका घरहरु खण्डहर बनेसँगै यो स्थानको मौलिकता समेत मेटिँदै गएको छ । पञ्चायतकालदेखि बहुदलीय व्यवस्था आउँदासम्म लाखौँ मूल्यका धातुका सामग्री उत्पादन हुने र टक (डोली पैसा) छाप्ने टक्सार बजार केही वर्षयता सुनसान छ । यहाँ निर्माण भएका धातुका सामानहरु देश विदेशमा परिचित छन् । राणाकालीन समयमा नेपालभर आवश्यक पर्ने टक (डोली पैसा) छापिएको ऐतिहासिक बजार हो टक्सार ।
भोजपुर सदरमुकाम नजिकै रहेको टक्सार कुनै समय व्यापारिक केन्द्रको रुपमा स्थापित बजार पनि हो । यस बजारको भू–भाग तत्कालीन खिकामाछा थुमअन्तर्गत रहेको यहाँका बुढापाकाहरुले बताउने गरेका छन् । १८७२ सालदेखि १८८७ सम्म यहाँ डोली पैसा बन्ने गरेको ऐतिहासिक तथ्य रहेको स्थानीयवासी किशोरकुमार ताम्राकारले बताए । यहाँ खानी अड्डा स्थापना गरेर तत्कालीन समयमा पाटनबाट ल्याइएका कालिगडले फलाम र तामाका डोली पैसा बनाउने गरेको उनले जानकारी दिए । अहिले पनि ती पैसाहरु पाउन सकिने उनको भनाइ छ ।
यहाँ टकमारी गरी बनाइएका एक तोला र दुई तोला तौलका (टक डोली) पैसा राणाकालमा प्रचलित थियो । यहाँ टक काट्ने पहिलो कालिगड देवदत्त शाक्य रहेको ताम्राकारले जानकारी दिए । पाटनबाट टक्सार आएका नेवार जातिले आफ्नो भाषा, धर्म, संस्कार र संस्कृति यस स्थानमा भित्र्याएका थिए । ‘यो स्थान टक अर्थात् पैसा बनिने रुपमा चिनिन्छ,’ उनले भने, ‘अहिले पनि यहाँ बनेका टक पाउन सकिन्छ । त्यति मात्र हैन यो स्थान औद्योगिक क्षेत्रको रुपमा समेत परिचित थियो । यहाँका अधिकांश घरमा धातुका सामग्रीहरु निर्माण हुन्थ्यो । तर अहिले यो पेसा पनि लोप हुने अवस्थामा पुगेको छ भने बजार सुनसान बन्दै गएको अवस्था छ ।’
तत्कालीन नेपाल सरकारले १८७२ सालदेखि भोजपुर, खोटाङ, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, धनकुटा, तेह्रथुम, ताप्लेजुङ र इलामसहितका पूर्वी पहाडका जिल्लामा खनिज पदार्थ उत्खनन गर्न टक्सारमा खानी अड्डा स्थापना गरेको थियो । टक्सारमा टक छाप्ने पेसा शाक्य वंशले गर्दै आएको ताम्राकार बताए । पैसा काटेर बढी भएको धातु यहाँका कालिगडलाई दिएर धातुका सामग्री बनाउने कामको थालनी भएको उनको भनाइ छ ।
त्यतिबेला यहाँका हरेक घरमा धातु उद्योग तथा धातुका सामग्री बिक्री हुने गर्दथ्यो । ‘यहाँ १८७२ सालमा खानी अड्डा स्थापना गरेर टकमारी गरेको देखिन्छ’, उनले भने, ‘यहाँ पूर्वी क्षेत्रबाट खनिज पदार्थ सङ्कलन गरेर टकमारी गरेको पाइन्छ । टक काटेर बढी भएको धातुलाई यहाँका स्थानीयलाई दिएर धातुका सामग्री बनाउने कामको थालनी भएको देखिन्छ । विभिन्न सरकारी अड्डाहरु स्थापना भएपछि यहाँ बस्ती विस्तार भएको पाइन्छ ।’
विसं २०१३ मा राजा महेन्द्रले टक्सारलाई औद्योगिक क्षेत्रका रुपमा घोषणा गरेको उनले जानकारी दिए । त्यो समयमा यहाँ दुईदेखि ३०० परिवारको बसोबास रहेको थियो । त्यतिबेला बजारमा मानिसहरुको चाप धेरै हुने गरेको स्थानीयवासीको भनाइ छ । २००७ सालपछि यहाँ रहेका सरकारी अड्डा भोजपुर बजारमा स्थानान्तरण गरिएसँगै टक काट्ने काम हटेपछि बजार पनि सुनसान बनेको यहाँका जानकारहरु बताउँछन् ।
टक्सारमा बनेका हस्तकलाका सामग्री भूटान, चीनको तिब्बत, भारतको दार्जलिङ, आसाम, सिलगढी र कोलकातासम्म निर्यात हुने गरेको थियो । यहाँ रहेका हस्तकलाका धातुका सामग्री बन्ने उद्योगहरु पनि बर्सेनि बन्द भइरहेका छन् । यहाँका कालिगडहरुले हातेउद्योगको सहायताले बनाएका काँसका थाल, करुवा, आङ्खोरा, बोकुटालगायत सामग्री अहिले पनि देश–विदेशमा परिचित छन् ।
दशकौँ अघिसम्म दर्जनौँको सङ्ख्यामा रहेका धातु उद्योग अहिले पाँचवटामा समिति भएको स्थानीय कालिगड विमल शाक्यले बताए । यी उद्योगहरुले बजारको मागलाई धान्न समस्या रहेको उनको भनाइ छ । यसलाई पुस्तान्तरण नगरिएमा पेसा नै सङ्कटमा पर्ने अवस्था रहेको उनले बताए । यो पेसाप्रति मानिसको चासो हराउँदा पछिल्लो समयमा आएर टक्सारको मौलिकतासँगै ऐतिहासिक महत्व मेटिने अवस्था आएको उनको भनाइ छ । ‘टक्सार धार्मिक तथा ऐतिहासिक महत्व बोकेको बजार हो’, उनले भने, ‘तर यो बजार सुनसान बन्दै गएको अवस्था छ । विगतमा दर्जनौँको सङ्ख्यामा रहेका धातु उद्योग पाँचवटामा सीमित छन् । यहाँ उत्पादन भएका धातुका सामग्रीको धैरै माग हुन्छ तर हामीले बजारको मागलाई धान्न सकेका छैनौँ ।’
एक समयमा ‘सानो पाटन’ को नामले समेत परिचित यो ठाउँमा रहेका कलात्मक घरहरु पनि भत्किँदै गएका छन् । यहाँको मौलिकता बोकेका धातु उद्योगहरु धमाधम बन्द भइरहेको स्थानीयवासी सुर्जबहादुर उदासले बताए । बसाइँसराइका कारण टक्सारको अतिस्व मेटिँदै गएको उनको भनाइ छ ।

प्रतिक्रिया