स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउने योजनामा छौं : मन्त्री पौडेल

कास्की । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल सरकारले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउँदै उपचारलाई सर्वसुलभ बनाउने योजनामा रहेको बताएका छन् ।
पोखरा महानगरपालिका–१२ स्थित शितलादेवी माध्यमिक विद्यालयमा आज पाठेघरको मुखमा हुने क्यान्सरविरूद्ध लगाइने एचपिभी खोप अभियानको शुभारम्भ गर्दै उहाँले स्वास्थ्य बिमालाई व्यवस्थित बनाइने बताए ।
स्वास्थ्यमन्त्री पौडेलले नेपालमा पाठेघरको क्यान्सरबाट महिलाले ज्यान गुमाइरहेको अवस्थामा अहिलेका किशोरीहरूलाई खोप उपलव्ध गराएर अबदेखि कसैले अकालमा ज्यान गुमाउन नपरोस् भनेर देशभर खोप अभियान सुरू गरिएको जानकारी दिए ।
उनले क्यान्सर लागेको पत्ता लागि सकेको उपचार सर्वसुलभ गराउने र उपचार नसक्नेका लागि निःशुल्क गराउने तयारी सरकारको रहेको मन्त्री पौडेलको भनाइ छ ।
पोखरा महानरपालिका क्षेत्रमा एचपीभी खोप अभियानका क्रममा करिब २३ हजार सात सय ४८ बालिकाहरूलाई खोप लगाइने छ ।
आगामी फागुन ६ गतेसम्म महानगरका दुई सय ७५ विद्यालय र ४७ वटा स्वास्थ्य संस्थाहरूमा तीन सय ४४ जना स्वास्थ्यकर्मी र छ सय ८८ जना स्वयंसेवहरू परिचालन गरी खोप कार्यक्रम सञ्चालन गरिएको महानगर प्रमुख धनराज आचार्यले बताए ।
विद्यालय उमेरका कक्षा ६ देखि १० र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका तथा किशोरीहरूलाई यो खोप प्रदान गर्न लागिएको हो ।
वडाध्यक्ष सन्तोष बाँस्तोलाले वडाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकता दिएको बताए । उनले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकको पारिवारिक बिमा गर्ने गरिएको जानकारी दिए । रासस

प्रतिक्रिया