बाँदरको बन्ध्याकरण : प्रदेशैपिच्छे प्रजनन केन्द्रको प्रस्ताव

नेपालखोज २०८१ माघ २३ गते २०:३५

काठमाडौं । बाँदरले देशभरका अधिकांश स्थानमा निम्त्याएको आतङ्कसँगै नियन्त्रणका लागि चौतर्फी दबाब सिर्जना भइरहेको छ । संसदहरूबीच आज पनि अब बाँदर नियन्त्रणका विषयमा गम्भीर हुनुपर्ने भन्दै बहस चलेको छ ।

प्रतिनिधिसभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा बाँदरले पछिल्लो समय आतङ्क मच्चाउँदा कृषक चिन्तित बनेको भन्दै बाँदरको व्यवस्थापन हुनुपर्ने सांसदहरूको जोड छ । ऐन नै संशोधन गरेर भए पनि अब राज्यले बाँदरको व्यवस्थापनमा लगानी बढाउनुपर्ने उनीहरूको माग छ ।

पूर्ववन तथा वातावरणमन्त्रीसमेत रहेएका सांसद डा वीरेन्द्र महतोले अब प्रदेशैपिच्छे प्रजनन केन्द्र स्थापना हुनुपर्ने प्रस्तावअघि सारेका छन् ।

महतोले सबै प्रदेशमा प्रजजन केन्द्र स्थापना गर्न करिब ३५ करोड हराहारीमा लागत लाग्ने भन्दै सोको व्यवस्थापनमा सरकारको ध्यान जान जरूरी रहेको बताए । बाँदर आतङ्कका कारण ग्रामीण भेगका कृषकले खेती नै गर्न छाडेको भन्दै उहाँले यसले मुलुकको अर्थतन्त्रमा ठूलो ह्रास आउनसक्ने बताए । बाँदरको साझा समस्या निराकरणमा राज्य गम्भीर हुनुपर्ने सांसद महतोको जोड रहेको छ ।

बाँदर आतङ्कले गाउँ नै खाली हुने डर

अर्की सांसद विनिता कठायतले पनि अब बाँदर व्यवस्थापनमा राज्य गम्भीर हुन नसकेमा सर्वसाधारण ग्रामीण भेगमा बस्नै नसक्ने वातावरण आउने र अधिकांश ग्रामीण क्षेत्र रित्तै हुने बताए ।

अर्का सांसद अशोकुमार चौधरीले पनि बाँदर आतङ्क रोकेर पीडित किसानको गम्भीर समस्या समाधानमा जोड दिन आग्रह गरे ।

सांसद सरस्वती सुब्बाले भने बाँदरकै कारण नेपालको कृषि पेशा धरापमा परेको बताए । सांसद बिजुला रायमाझीले पनि मुलुकको खाद्य उत्पादन बढाउनका लागि बाँदर नियन्त्रणमा जोड दिए ।

सांसद मिना तामाङले बाँदर व्यवस्थापनका लागि आवश्यकपर्ने लागत व्यवस्थापनका लागि राज्यको अन्य शीर्षकका खर्च भए पनि कटौती गर्नुपर्ने सुझाव दिए ।

बन्ध्याकरणका नगरेसम्म बाँदरको सङ्ख्या कम हुँदैन : पशु चिकित्सक

नेपाल भेटनरी एशोसिएसनका महासचिवसमेत रहेएका पशु चिकित्सक डा केदार सुवेदीले बाँदरको बन्ध्याकरण सम्भव रहेको भन्दै यसका लागि राम्रो तालिकाको व्यवस्था हुनुपर्ने बताए ।

आहाराको समस्याले बस्तीमा बाँदर

कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले पछिल्लो समय वनमा आहाराको कमी भएपछि मानवबस्तीमा आहारा खोज्दै बाँदर छिर्न थालेको बताए ।

सचिव शर्माले जङ्गलमा फलफूलका बिरूवा लगाउनसकेमा बाँदरको आहारा जुट्ने र बाँदरले आहारा खेज्दै बस्ती छिर्न नसक्ने बताउनुभयो । शर्माका अनुसार बाँदरको पनि खानेकुरा खाने अभ्यासमा आएको परिवर्तनले पनि बस्तीमा बाँदर आतङ्क हुन थालेको छ ।

जलवायु तथा विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले जलवायु परिवर्तनका कारण जङ्गलका पोखरी, खोल्साखोल्सी सुक्दै जान थालेको र यसले वन्यजन्तुलाई ठूलो असर गर्नसक्ने खतरा रहेको बताए ।

विज्ञसँग थप छलफल गर्नुपर्छ : निकुञ्ज विभाग

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले बाँदर नियन्त्रणका उचित उपायका लागि अझै बाँदर विज्ञहरूसँग छलफल गरेर अगाडि बढ्नुपर्ने बताए ।

कँडेलले प्राकृतिक रूपमा बाँदरको सङ्ख्या व्यवस्थापन गर्नुपर्ने सुझाव दिए । उनले चितवनमा वन्यजन्तुको अस्पताल बनेको र अन्य उद्यान पनि निर्माण भए पनि जनशक्तिको अभाव रहेको बताए । ‘कर्मचारीको दरबन्दी बढाएर अहिलेको समस्या समाधान गर्नुपर्छ’, कँडेलले भने ।

बाँदर नियन्त्रणमा नतिजा देखिनेगरी काम गर्छौं स् वन मन्त्रालय

वन तथा वातावरण राज्यमन्त्री रूपा विकले बाँदर नियन्त्रणमा नतिजा देखिनेगरी परिमाणमुखी काम गर्न मन्त्रालय तयार भएको जानकारी दिए ।

कानुन जटिलता र आवश्यकताअनुसारको बजेट व्यवस्थापन नै अहिलेको मुख्य चुनौती रहेको उनको भनाइ छ । ‘बाँदरले दिएको हैरानी देशभरका जनताले भोगेको समस्या बनेको छ, अब यी जनताका समस्या निराकरण गर्न पनि बाँदर व्यवस्थापनका लागि राज्य लाग्नैपर्छ’, राज्यमन्त्री विकले भने । रासस

प्रतिक्रिया