आगलागीबाट मन्त्रालयका महत्वपूर्ण कागजातमा कुनै क्षति भएको छैन : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले आज बिहान खानेपानी मन्त्रालयमा भएको आगलागीबाट मन्त्रालयका अति आवश्यक एवम् महत्वपूर्ण कागजातमा कुनै क्षति नभएको बताएका छन् ।
आगलागी पश्चात तत्काल मन्त्रालय पुगेका मन्त्री यादव, सचिव ई प्रमिलादेबी शाक्य बज्राचार्य, सहसचिव रमाकान्त दुवाडि सहितको टोलीले आगलागीले जेलको कार्यकक्षको निरीक्षण गरेका थिए । निरीक्षण पश्चात सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा आगलागीबाट मन्त्रालयका अति आवश्यक एवं महत्वपूर्ण कागजातमा भने कुनै क्षति नभएको मन्त्री यादवले बताए ।
उनले भने, ‘मैले मन्त्रालयका आवश्यक कागजात आफ्नो टेबलमा राख्दिनँ, सबै सही गरेर सचिव ज्युलाई पठाउने गर्छु । सामान्य केही पढ्नका लागि राखिएका कागजात बाहेक कुनै पनि महत्वपूर्ण कागजात नष्ट भएको छैन ।’
विद्युत् सर्ट भएकै कारण आगलागी भएको हुनसक्ने आशंका गर्दै मन्त्री यादवले भने, ‘दु:खद घटना भयो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । हिजो शुक्रबार नै विद्युतको तार पोलिएको गन्ध आएको थियो । मैले कार्यालय सहयोगीलाई यसको जानकारी गराएको थिएँ । पानी तताउने मेसिन होला भनेर विद्युतका सबै प्लगहरू निकाल्न लगाएको थिएँ । आज भने आगलागी भयो ।’
आज बिहान करिब ८ बजेर ४० मिनेटमा भएको उक्त आगलागीले खानेपानीमन्त्री यादवको कार्यकक्षमा पूर्ण रूपमा क्षति पुर्याएको छ । अचानक लागेको आगलागीले मन्त्री यादवको कार्यकक्षमा रहेका दुईवटा टेलिभिजन, एउटा कम्प्युटर, डेस्कटप, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सी, कार्पेट, सीसी क्यामेराको मनिटर लगायतका सामग्रीमा क्षति भएको मन्त्रालयका सहसचिव रमाकान्त दुवाडिले जानकारी दिए ।
उनका अनुसार आगलागीबाट करिब ४० देखि ५० लाख रुपैयाँसम्मको क्षति भएको हुन सक्ने अनुमान गरिएको र क्षतिको विवरणबारे छानबिन भइरहेको छ । आज बिहान ८ बजेर ४० मिनेटमा लागेको आगो नेपाली सेना, नेपाल प्रहरी तथा दमकलको सहायताले ९ बजेर १५ मिनेटमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले बताए ।

प्रतिक्रिया