रिग्दी खोलामा असला माछा देखिन छाड्यो

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित रिग्दी खोलामा पछिल्लो समय असला माछा देखिन छाडेको छ । कुनै समय खोला वरपर बसोबास गर्ने स्थानीयले माछा मारेर जीविकोपार्जनसमेत गर्थे । तर केही वर्षयतादेखि खोलामा विष र करेन्ट प्रयोग गरेर माछा मार्नेक्रम बढेपछि यहाँका असला माछा मासिँदै गएका छन् ।
विषादी हाल्ने र करेन्ट लगाउनेक्रम नरोकिएपछि स्थानीय माछासहित जलचर प्राणीको संरक्षण गर्न लागिपरेका छन् ।इच्छाकामना –२ का स्थानीयले शनिबार माछा संरक्षण समिति गठन गरेका छन् ।
संरक्षण समितिले विषादी र करेन्ट प्रयोगले पार्ने असरबारे खोला आसपास बसोबास गर्ने स्थानीयलाई जानकारी गराउने, गाउँपालिका र वडा कार्यालयसँग समन्वय गरी विषादी र करेन्ट प्रयोग गर्दा हुने कानुनी कारबाहीलगायत जनचेतनामूलक कार्यक्रम गर्ने, सूचना बोर्डहरु राख्नेलगायत काम गर्ने माछा संरक्षण समितिका अध्यक्ष शेरबहादुर प्रजाले बताए।
सम्झाउँदा अटेर गरे समितिले कानुनी कारबाहीका लागि स्थानीय प्रशासनलाई जानकारी गराउने उनले बताए । गाउँपालिकाले पछिल्लो केही वर्षदेखि खोलामा विषादी नहाल्न र करेन्ट नलगाउन पटकपटक सूचना जारी गर्दै आएको गाउँपालिका अध्यक्ष दानबहादुुर गुरुङले बताए । विषादी हाल्ने र करेन्ट लगाउने गरेमा वडा कार्यालय, गाउँपालिका कार्यालय र स्थानीय प्रशासनलाई जानकारी गराउन अनुरोध गरेको उनले बताए ।

प्रतिक्रिया