आइतबार, वैशाख १४, २०८२

भरूवा बन्दुक सहित एक जना पक्राउ

नेपालखोज २०८१ माघ ३० गते १७:०७

पाँचथर । कुम्मायक गाउँपालिका–५ निगाले बस्ने ३६ वर्षीय कमल चेम्जोङलाई भरूवा बन्दुक १ थान र खुकुरी १ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय यासोकबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा ३४ जना पक्राउ

काठमाडौंको चन्द्रागिरी नगरपालिका–१० बोशीगाउँ बस्ने विरेन्द्र महर्जनको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा विरेन्द्र समेत ११ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख ५० हजार १ सय १ रूपैयाँ, कौडा १८ थान र ३ बुक तास सहित पक्राउ गरेको हो ।

कैलालीको गौरीगंगा नगरपालिका–४ राजीपुर बस्ने अनिल केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका–३ बस्ने ५७ वर्षीय गोपाल घिमिरे समेत ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७४ हजार रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

बर्दियाको बारबर्दिया नगरपालिका–९ बस्ने ३२ वर्षीय निराजन राजबंशीको होमस्टेमा जुवातास खेलिरहेको अवस्थामा राजापुर नगरपालिका–८ बस्ने ५४ वर्षीय बसन्त कुमार शर्मा समेत १४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलाय मोतिपुर र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७१ हजार ५ सय २६ रूपैयाँ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

रोल्पाको रून्टीगढी गाउँपालिका–२ लामीडाँडास्थित सडकमा रून्टीगढीबाट धारापानीतर्फ जाँदै गरेको रा.१ ह ५४९१ नम्बरको अटो अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार सोही गाउँपालिका–२ धारापानी बस्ने ६५ वर्षीय ईन्द्र घर्तीको घट्नास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका अटो चालक समेत २ जनालाई थप उपचारको लागि जिल्ला अस्पताल पठाइएको छ ।

नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–१ मिलनचोकस्थित सडकमा बा.५ ख ६२५२ नम्बरको बसले ना.४३ प ५३० नम्बरको मोटरसाइकललाई मंगलबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक गैंडाकोट नगरपालिका–१ बस्ने पर्सा धोबीनी गाउँपालिका–३ घर भएका ३० वर्षीय अर्जुन महत्तोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवनको रत्ननगर नगरपालिका–५ जनकल्याण चोकस्थित सडकमा बछौलीबाट झुवानीतर्फ जाँदै गरेको बा.प्र.०३–००२ प ५५०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका–५ बस्ने २८ वर्षीय आलोक महत्तोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया