‘एक घर एक धारा’ का लागि तीन लाख लिटरको ट्याङ्की

धुलिखेल । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बुडोलका नागरिकलाई ‘एक घर एक धारा’ अभियानअन्तर्गत खानेपानी वितरणका लागि तीन लाख क्षमताको खानेपानी ट्याङ्की निर्माण गरिने भएको छ ।
एकीकृत खानेपानी आयोजनामार्फत एक घर एक धारा वितरणका लागि डाँडागाउँ खानेपानी ट्याङ्की निर्माण तथा पाइपलाइन विस्तार योजना निर्माणकार्य बुधबारदेखि सुरु भएको छ ।
निर्माणकार्य शुभारम्भ गर्दै नगर प्रमुख शान्ति रख्त शाक्यले सबै नागरिकको घरमा खानेपानी पु¥याउने नगरको योजना रहेको बताए । यसअघि काभ्रे उपत्यका एकीकृत खानेपानीअन्तर्गत पानी आपूर्ति गर्दै आएकामा गत असोज १२ गते गएको बाढीले क्षति पुगेपछि नगरपालिकामा फेरि खानेपानीको समस्या भएको उनले बताए ।
नगरप्रमुख शाक्यले बनेपा नगरपालिकाले सबै वडाका नागरिकहरुलाई एक घर एक धारा जडानको उद्देश्यअनुरुप खानेपानीलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताए । खानेपानीमा राजनीति नगरी समस्या समाधान गर्ने काममा सहयोग गर्न उनले सबै नगरवासीलाई आग्रह गरे ।
नगर उपप्रमुख बिमला सापकोटा दाहालले बनेपा नगरपालिका–६ ले सुरु गरेको अभियानमा नगरपालिकाको पूर्ण समर्थन रहेको र यसका लागि आवश्यक बजेट तथा समन्वयका लागि नगरपालिका तयार रहेको बताए । उनले खानेपानी, सडक, स्वास्थ्य जस्ता विकासमा सबै नगरवासीले साथ र सहयोग गर्नुपर्नेमा जोड दिए ।
बनेपा नगरपालिका–६ का वडाअध्यक्ष सचितानन्द केसी पहिलो चरणको खत्रीगाउँ डिपबोरिङको काम ९९ प्रतिशत सम्पन्न गरी धारा वितरण गरिसकेको बताउँछन् । उनले दोस्रो चरणको योजनाबाट डाँडागाउँ क्षेत्रका करिब एक हजार जना लाभान्वित हुने बताए ।
सबै पानीका मुहान एकीकृत गर्न गठित समितिका संयोजक कृष्णबुद्ध बजगाईंले वडावासीको समग्र हितका लागि छरिएका मुहानलाई एकीकृत गर्न भएको सहमतिअनुसार तीव्र गतिमा काम अगाडि बढिरहेको बताए ।
डाँडागाउँ खानेपानी ट्याङ्की निर्माण तथा ‘पाइपलाइन’ विस्तार योजनाका संयोजक सुनिल घर्ती मगरले रु ३५ लाख ३० हजारमा लाइन विस्तार र खानेपानी ट्याङ्की निर्माण सम्पन्न हुने बताए । खत्रीगाउँमा रहेका सातवटा मूललाई एकीकृत गर्ने र थप पानीको स्रोतका लागि ‘डिपबोरिङ’ गरिएको छ ।

प्रतिक्रिया