चिरणकुमार बुढालाई जन्मकैदको फैसला गरेको त्यो घटना‘

नेपालखोज २०८१ फागुन १ गते १५:५७

विसं २०७७ साउन ३ गते चितवनको माडी नगरपालिका–९ कुसुमखोलामा बसोबास गर्दै आएका १० भन्दाबढी चेपाङ समुदायको घर हात्ती लगाएर भत्काउँदै जलाइयो । उक्त कार्यमा चितवन राष्ट्रिय निकुञ्जका सहायक वार्डेनको टोलीसहित सेनाको सङ्लग्नता थियो । निकुञ्जको जग्गा मिचेको आरोपसहित उनीहरुको बस्तीमा आगो लगाइएको थियो ।

सो घटनापश्चात विभिन्न मानवअधिकारवादी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाले आपत्ति जनाए । माडी नगरपालिकाले एक सय ६० घरधुरी चेपाङलाई नयाँ बस्तीमा स्थानान्तरण गरे पनि अझै केही घर पुरानै क्षेत्रमा छन् । चेपाङहरु जङ्गल आसपास बस्न मन पराउने भएकाले केही घरधुरीलाई हामीले अनुरोध गर्दा पनि सर्न मानेको छैन, सो वडाका वडाध्यक्ष घनश्याम दवाडीले ‘अहिले पनि वर्षमा एक–दुई पटक निकुञ्जले हात्ती लैजाने, हटाउने प्रयास गरिरहेको छ सो घटनामा दूधे बालक र वृद्धवृद्धासहित ५२ जनाको बिल्लीबाठ भएको थियो ।

त्यस्तै २०७७ साउन १ मा चितवनको राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङसहित सातजना घोंगी टिप्न निकुञ्ज प्रवेश गरेका थिए । उनीहरुलाई नेपाली सेनाले पक्राउ गरी कुटपिट गर्दा त्यसको सात दिनपछि राजकुमारको मृत्यु भयो । अम्बा, निबुवाजस्ता जङ्गली फलफूल र घोंगी टिप्न निकुञ्ज क्षेत्र प्रवेश गरेका उनीहरुलाई निकुञ्जको सुरक्षार्थ खटिएका सेनाले अमानवीय यातना दिएका थिए ।

पछि उच्च अदालत हेटौँडाले कुटपिटमा सङ्लग्न नेपाली सेनाको तत्कालीन सिद्धिबक्स गणका हुद्दा चिरणकुमार बुढालाई जन्मकैदको फैसला गरे पनि घटनामा सङ्लग्न अन्य सेनाले छुट पाए । तर जीविकाकै लागि निकुञ्ज प्रवेश गरेका राजकुमारले ज्यान गुमाए । यस्ता घटना धेरै छन्, कमै मात्र सार्वजनिक हुने गर्दछन् ।चेपाङलगायत अधिकांश आदिवासी जनजाति समुदाय जल, जमिन र जङ्गलसँग निकट मानिन्छन् । प्राकृतिक स्रोत साधनमा निर्भर यो समुदायले विज्ञान प्रविधिभन्दा रैथाने ज्ञान, प्रथा, परम्परालाई बढी महत्व दिन्छन् ।

अन्तर्राष्ट्रिय सन्धि, महासन्धिसमेतले आदिवासी समुदायको जल, जमिन र जङ्गल उपयोग गर्न पाउने अधिकार सुनिश्चित गरेको छ । नेपालले त्यस्ता महासन्धिमा पक्ष राष्ट्रको रूपमा हस्ताक्षर गरेको छ । तर, नेपालकै ‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९’ले वर्षौँदेखिको आदिवासी समुदायको अधिकार हनन् गर्दै आएको छ ।

विसं २०७८ को जनगणनाअनुसार कूल जनसङ्ख्याको ३५ दशमलव ०४ प्रतिशत रहेको आदिवासी जनजातिको अधिकार पटकपटक खोसिरहेका छन् । कतिपय कानुनमै समस्या रहेको छ भने कतिपय अवस्थामा त्यसको कार्यान्वयन फितलो हुँदा पीडितले न्याय पाउन सकेका छैनन् ।

शिकार आरक्षमा झनै समस्या

मुलुकको एकमात्र शिकार आरक्ष हो ढोरपाटन शिकार आरक्ष । २०३९ सालमा यो आरक्ष स्थापना गरिँदा त्यहाँका आदिवासी जनजाति मगर समुदायको भूमि कब्जा गरिएको थियो । त्यतिखेर पञ्चायतकालीन समयमा असन्तुष्टि व्यक्त भए पनि आन्दोलनको रूप लिन सकेन ।

त्यहाँ बाग्लुङको चार, रुकुमको सात र म्याग्दीको तीन वटा गरी १४ वटा गाविस हडप्ने काम गरियो । यसका कारण स्थानीयले समस्या भोग्न थाले । उनीहरुले शिकार आरक्षप्रति असन्तुष्टि जनाउँदै ढोरपाटन शिकार आरक्षको खारेज गरी सामुदायिक स्व–व्यवस्थापनमा रूपान्तरण गर्न, आरक्षको सुरक्षार्थ नाममा नेपाली सेनाको क्याम्प स्थापना गर्ने सरकारी निर्णय खारेजको माग राख्दै आएका छन् ।

आदिवासीहरुको मानव अधिकारको सम्मानलगायतका मागसहित स्थानीयवासीले २०७२ सालपछि विभिन्न आन्दोलन गर्दै आएका छन् । सो क्षेत्रमा मध्यवर्ती क्षेत्र स्थापना गर्ने भनिए पनि स्थानीयवासीले सिधै शिकार आरक्ष खारेजीको माग गरेका छन् ।

केही समयअघि प्राकृतिक स्रोत संरक्षणविज्ञ डा कमल थापा र अधिवक्ता इन्दिराकुमारी श्रीस मगरले गरेको एक अध्ययनले पनि यसक्षेत्रको पारिस्थितिकीय प्रणाली सुधार गर्न पुराना संरक्षणका रणनीति तथा अभ्यासहरू काम नलाग्ने निष्कर्ष निकालिएको थियो । आदिवासी रैथाने ज्ञानलाई मिचेर बनाइएको शिकार आरक्ष क्षेत्रले आम्दानीको तुलनामा घाटा बढी व्यहोरेको छ भने जङ्गली जनावरको सङ्ख्यामा पनि उत्साहजनक वृद्धि देखिएको छैन ।

इन्डिजिनियस वुमन लिगल अवेयरनेस ग्रुप(नोल्याग) की अध्यक्षसमेत रहेकी अधिवक्ता इन्दिरा श्रीस मगर भन्नुहुन्छ, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन नै संशोधन हुनुपर्छ । आदिवासी अधिकारको पक्षबाट हेर्दा भूमीको पुनःव्यवस्थापन हुनुपथ्र्यो, त्यो भएन । हामीसँग जग्गा प्राप्ति ऐनहरु पनि छन् । निकुञ्ज गठन गर्दा स्थानीयको जग्गा चाहिएमा उनीहरुलाई छुट्टै जग्गा दिनुपर्ने व्यवस्था छ तर कतै कार्यान्वयन भएको छैन ।

हालै मात्र इनोल्यागले ढोरपाटन शिकार आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, कोशी टप्पु वन्यजन्तु आरक्ष, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज गरी चार ठाउँमा अध्ययन गरेको छ । उक्त संस्थाले ती चारवटै क्षेत्रमा आदिवासी महिला मानवअधिकार रक्षक समूहसमेत गठन गरेको छ । ती क्षेत्रमा बस्ने आदिवासी महिलाहरुले घाँस, दाउरा, गोठालालगायतका जीविकासँग सम्बन्धित क्रियाकलापमा संलग्न हुँदा विभिन्न हिंसा भोग्दै आएकाले अधिकारका लागि रक्षक समूह गठन गरेको संस्थाले जनाएको छ ।

के छ अन्तर्राष्ट्रिय कानुनमा ?

नेपालले विभिन्न संयुक्त राष्ट्रसङ्घीय घोषणापत्रहरुमा पक्ष राष्ट्रको रूपमा हस्ताक्षर गरेको छ । त्यसरी पक्ष राष्ट्रको रूपमा हस्ताक्षर गर्नुको अर्थ ती अन्तर्राष्ट्रिय कानुनहरुको पालना गर्छु भन्नु हो । आदिवासी समुदायका अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय घोषणापत्र (युएन ड्रिप) को धारा २८ आदिवासी समुदायलाई कुनै कारणले विस्थापित गरिएमा उनीहरुको जग्गा वा भूमि कब्जा गर्दा पूर्व जानकारी गराउनुपर्ने वा सहमति लिनुपर्ने र न्यायोचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, त्यसरी राज्यले क्षतिपूर्ति उपलब्ध गराउँदा उनीहरुको परम्परामा ख्याल गरी भएको क्षति पूर्ति हुने किसिमको उपलब्ध गराउनुपर्ने उल्लेख छ ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन महासन्धि नं. १६९ मा आदिवासी तथा जनजातिका अधिकार, चाहना र आकांक्षालाई राज्यको नीति, कानुन र संरचनामा सम्बोधन गर्ने, मुलुकका अन्य समुदायसँग समान अधिकार उपयोग गर्ने व्यवस्था सुनिश्चित गर्ने, आदिवासी तथा जनजातिका सामाजिक, आर्थिक र सांस्कृतिक अधिकार पूर्णरूपमा उपयोग गर्नका लागि प्रवद्र्धन गर्नेलगायत उल्लेख छन् ।

प्रतिक्रिया