संरक्षणको अभावमा पुरिन थाले तामाखानीका सुरुङ

नेपालखोज २०८१ फागुन १ गते १७:२३

म्याग्दी (बेनी) । म्याग्दीको रघुगङ्गा गाउँपालिका– ६, ठाँडाखानीमा रहेको तामाखानीको सुरुङ पुरिन थालेको छ । छन्त्याल समुदायको पुर्ख्यौली पेसा मानिने खानी खन्ने काम वर्षौंदेखि रोकिनुका साथै पुर्खाले पत्ता लगाएका तामाखानीको संरक्षण नहुँदा सुरुङ पुरिन थालेको हो ।  

पुरानो गाउँनजिक चुलिको जरामा रहेको तामाखानीको एउटा सुरुङ पुरिएको स्थानीय बताउँछन् । यस ठाउँमा परम्परागत रूपमा तामाखानीका दुईवटा सुरुङ रहे पनि अहिले एउटा पुरिएको र अर्को पनि पुरिने अवस्थामा पुगेको स्थानीय मन छन्त्यालले बताए । 

‘गाउँवरपर तामाखानीका धेरै भग्नावशेष छन्, सुरुङ वरपर प्रशस्त मात्रामा तामाका धाउ फेला पर्छन्, तर खानी खन्ने पेसा बन्द भएसँगै अहिले खानीको अवशेषसमेत मेटिने जोखिम बढेको छ,’ उनले भने । उनका अनुसार ठाँडाखानी गाउँको शिरमा पर्ने रुमाले गाउँको भिर, इच्छिमाझ भिरलगायत ठाउँमा तामाखानीका दर्जनभन्दा बढी सुरुङ रहेका छन् । 

अधिकांश ठाउँका सुरुङमा अहिले पनि तामाका धाउ प्रशस्त मात्रामा देखिने बताउँदै छन्त्यालले सुरुङको संरक्षण नहुँदा पहिरो र भलबाढीका कारण पुरिन थालेको उल्लेख गरे । ‘तत्कालीन समयमा तामाखानी उत्खनन गरेबापत सरकारलाई बुझाउनुपर्ने भेजा (कर) बढाएपछि यस क्षेत्रमा खानी उत्खनन गर्न छाडेर कतिपयले बस्ती अन्यत्र सारे भने कतिपयले पेसा परिवर्तन गरेका थिए,’ उनले भने । 

ठाँडाखानीको पुरानो गाउँमा हुने खानी उत्खनन सरकारले बन्द गराएपछि कृषि पेसालाई अँगाल्न बस्ती स्थानान्तरण भएको पाइएको रघुगङ्गा गाउँपालिका– ६ का वडासदस्य टेकजित छन्त्यालले बताए । ‘हाम्रो पुर्खाको इतिहास खेतीपाती गर्ने र पशुपालन गर्ने होइन, जहाँ खानी छ, त्यहीँ गएर बस्ने र खानी खनेर जीविका चलाउने हो, तर पछि सरकारले कर लगाउन थालेपछि स्थानीयले कर तिर्न सक्ने अवस्था नबनेपछि खानी खन्ने पेसा सङ्कटमा परेको हो,’ उनले भने । 

गाउँमा रहेका घरका भग्नावशेषसँगै खानीबाट ल्याइएका धातु पगालेर तामा निकालेपछि फालिएका तामाका धाउ पाखैभरि अहिले पनि देख्न सकिन्छ । परम्परागत आरनमा आगोले धातु पगालेर धाउलाई पाखामा छाडेकाले पुरानो गाउँमा खेतीपाती हुँदैन भने रुखबिरुवा पनि उम्रन मुस्किल पर्ने स्थानीयको भनाइ छ ।

आफ्नो पुर्ख्यौली पेसा बन्द भएको र खेती किसानी गर्नुपर्ने भएपछि पुरानो गाउँबाट करिब १५ मिनेटकोे दूरीमा रहेको हालको ठाँडाखानीमा करिब एक सय वर्षअघि सिङ्गो गाउँ सरेर आएको स्थानीयवासी बताउँछन् । 

तत्कालीन समयमा छन्त्याल समुदायले माटो र भिरको ढुङ्गा सुँघेर धातु भए/नभएको पत्ता लगाउने गर्थे । औजार र उपकरणसमेतको विकास नभएको अवस्थामा कुटो, कोदालो, घन, टुकटुके र छिनाजस्ता घरेलु औजारले पहाडभित्र सुरुङ बनाउने र सुरुङभित्र निङ्गालोको भाङ बालेर धातु खन्ने काम गरिने स्थानीय ज्येष्ठ नागरिक बताउँछन् । 

छन्त्याल समुदायको पुर्ख्यौली पेसा खानी खन्ने भए पनि सरकारले कर बढाएपछि उक्त पेसा छाडेर अन्य पेसामा लाग्नुपरेको ठाँडाखानीस्थित मालिका आधारभूत विद्यालयका पूर्वप्रधानाध्यापक खिममाया छन्त्यालले बताइन् ।

‘यस्ता  भिर तथा पहाडमा कुनै प्रविधिको प्रयोग र खोज अनुसन्धान नै नगरी धातुका खानी पत्ता लगाउनुले हाम्रो पुर्खाको विज्ञतालाई झल्काउँछ, अहिले पनि यस क्षेत्रमा खोज अनुसन्धान गर्ने हो भने प्रशस्त मात्रामा खानी पाउन सकिन्छ भन्ने हाम्रो विश्वास हो । पुराना खानी भग्नावशेष भइसकेका छन्, उत्खननका लागि सरकारीस्तरबाट कुनै पहल भएको छैन’, पूर्व प्रअ छन्त्यालले भनिन् । 

ठाँडाखानीसँगै म्याग्दीमा छन्त्याल समुदायको परम्परागत बसोबास रहेका कुइनेखानी, चौरखानी, मङ्गलेखानी, गुर्जा खानी, मल्कबाङ, मच्छिम, ओखर बोटलगायत बस्तीनजिक प्रशस्त मात्रामा तामाखानीका सुरुङ छन् । खानी बन्द भएलगत्तै तत्कालीन समयमा छन्त्याल समुदायका युवा भारतीय र बेलायती सैनिकमा भर्ती हुने क्रम उच्च थियो भने अहिले वैदेशिक रोजगारीदेखि व्यापार व्यवसायको क्षेत्रमा आबद्ध भएको उनले बताइन् । 

रघुगङ्गा गाउँपालिका– ६ का वडाध्यक्ष मनकुमार शेरपुञ्जाले परम्परागत खानी आर्थिक विकासको महत्त्वपूर्ण आधार बनेको बताउँदै खानी उत्खनन गर्न सकेमा राज्यलाई आम्दानी हुने र स्थानीयलाई रोजगारी सिर्जना हुने बताए ।  

‘सरकारले पुराना खानी उत्खनन गर्ने नीति लिएको छ, तर अहिलेसम्म स्थानीय सरकारले कस्तो भूमिका खेल्ने स्पष्ट भइसकेको छैन । सङ्घ र प्रदेश सरकारले खानी उत्खननका लागि स्पष्ट अवधारणसहित स्थानीय सरकारलाई अधिकार दिने हो भने बन्द भएका खानीलाई पुनःसञ्चालन गर्न सकिन्छ,’ उनले भने । 

प्रतिक्रिया