आइतबार, वैशाख १४, २०८२

अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

नेपालखोज २०८१ फागुन २ गते १५:१५

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा सिरहा नगरपालिका–८ घर भई काठमाडौं महानगरपालिका–३२ बस्ने ३३ वर्षीय रमेश कुमार ठाकुर र धनुषा विदेह नगरपालिका–५ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–५ बस्ने २९ वर्षीय बिशाल ठाकुर रहेका छन् ।

उनीहरूले अमेरिका पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २१ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रमेशलाई काठमाडौं तीनकुनेबाट र बिशाललाई काठमाडौं कोटश्वरबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं तथा रविनलाई प्रहरी वृत्त बौद्ध पठाइएको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

कास्कीको पोखरा महानगरपालिका–९ पृथ्वीचोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम २८ एम्पुल, फेनारगन २८ एम्पुल र बुप्रेनोर्फिन २८ एम्पुल सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको । पक्राउ पर्नेहरूमा स्याङ्जा फेदीखोला गाउँपालिका–२ बायाँटारी बस्ने ३६ वर्षीय नविन खत्री, महोत्तरी बर्दिबास नगरपालिका–८ घर भई कास्की पोखरा महानगरपालिका–९ पृथ्वीचोक बस्ने २१ वर्षीय मदन अधिकारी र २१ वर्षीय रोहित तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

सुर्खेतको वीरेन्द्नगर नगरपालिका–१२ तीनकुने चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका–१० बस्ने ३८ वर्षीय दुर्ग नेपाली र सोही नगरपालिका–१२ बस्ने ३५ वर्षीय बिजय कालुङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

चितवनको खैरहनी नगरपालिका–१ ज्यामिरे बस्ने २७ वर्षीय सुवास चौधरीलाई अवैध लागूऔषध गाँजा करिब ३ किलोग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ७३ ट्याब्लेट, नाइट्राभेट २६ ट्याब्लेट र नगद ८ हजार रूपैयाँ बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यसैगरी चितवनको रत्ननगर नगरपालिका–१२ बालदेबी टोलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ८ ग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय सुबास पोखरेल र सोही नगरपालिका–१३ बस्ने २८ वर्षीय सन्तोष घिमिरे रहेका छन् । प्रहरी चौकी पञ्चकन्याबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.प्र.०३–००२ प ५५४३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

मोरङको बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १४ ग्राम ७ सय ८० मिलिग्राम सहित झापा बिर्तामोड नगरपालिका–६ घर भएका १८ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । स्याङ्जाको वालिङ नगरपालिका–१० भकुण्डेबाट नियन्त्रित लागूऔषध नोर्फिन ४९ एम्पुल, फेनारगन ६४ एम्पुल र डाइजेपाम ३४ एम्पुल सहित कास्की पोखरा महानगरपालिका–२१ बस्ने २४ वर्षीय शिबजी तिवारीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ त्रिशुले चोकबाट अवैध लागूऔषध गाँजा करिब १ किलोग्राम सहित सोही उपमहानगरपालिका–१३ बस्ने १८ वर्षीय किशोरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हटियाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ८ ग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईन्द्रसरोवर गाउँपालिका–१ कुलेखानी बस्ने ३४ वर्षीय सुदिप थापा मगर र काठमाडौं चन्द्रागिरी नगरपालिका–५ बनस्थली बस्ने २६ वर्षीय प्रशान्त घले रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बा.४२ प ८३१७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सिराहको गोलबजार नगरपालिका–४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ९० मिलिग्राम सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका–७ दशई महाजन टोल बस्ने २० वर्षीय पंकज मण्डल, सोही नगरपालिका–६ ग्रामिण टोल बस्ने २८ वर्षीय अरबिन्द सिंह दनुवार र सोही नगरपालिका–६ बस्ने २६ वर्षीय रबिन मुखिया रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले स.३ प ६३४४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय २० मिलिग्राम सहित गोदावरी नगरपालिका–५ बस्ने २६ वर्षीय मनोज रानालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–१२ सि गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१२ बस्ने २३ वर्षीय किसन बिक र ३५ वर्षीय हरि सिंह थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले किसनलाई २ सय ९० मिलिग्राम र हरिलाई २ सय ६० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया