शिक्षा क्षेत्रको लगानी गुणात्मक रूपमा वृद्धि गर्नुपर्नेमा जोड

दमौली (तनहुँ) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले शिक्षा क्षेत्रको लगानी गुणात्मक रूपमा वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित मित्रता माध्यमिक विद्यालयको आज आयोजित ५४औँ वार्षिकोत्सव कार्यक्रममा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले शिक्षा क्षेत्रमा लगानी कम रहेकाले लगानी बढाउनुपर्ने आवश्यकता औँल्याए ।
उनले भने, ‘हामी सरकारमा हुँदादेखि नै शिक्षा क्षेत्रमा लगानी अपूरो भयो भनेर बहस सुरु गरेका थियौँ । शिक्षा क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छ । सामाजिक, आर्थिक रूपान्तरण, विकास र समृद्धिको कार्यभार पूरा गर्नेगरी शिक्षा प्रक्रियालाई पूरा गर्नुपर्छ ।’
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पाठ्यक्रममा सुधार गर्न शिक्षकलाई तालिम दिनुपर्नेमा जोड दिए । श्रेष्ठले सामुदायिक विद्यालय निजी विद्यालयभन्दा गुणस्तरीय भए पनि निजी विद्यालयतर्फ आमनागरिकको आकर्षण बढेको वर्तमान अवस्थामा लगानी बढाएर सीप र रोजगारीसँग जोड्ने गरी शिक्षा दिनु आजको आवश्यकता भएको बताए ।
उनले सामुदायिक विद्यालयको स्तर गुणात्मक तरिकाले वृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताउँदै शिक्षामा समान पहुँचको वातावरण सृजना गर्नुपर्ने उल्लेख गरे ।
शिक्षा जीविकोपार्जनका लागि मात्र नभई शिक्षा जीवनका लागि भएको उल्लेख गर्दै श्रेष्ठले अहिलेको शिक्षा प्रणाली मानिसलाई मेसिन बनाउने माध्यम मात्र भयो कि त्यसतर्फ सोच्नुपर्ने बेला आएको चर्चा गरे ।
आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि पालिकाले पहल गरिरहेको जानकारी दिए । रासस
प्रतिक्रिया