तरकारीखेतीबाट सात लाख आम्दानी

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका सिद्धराज सार्कीले भाडामा जग्गा लिएर व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । दुई दशकदेखि तरकारीखेती गर्दै आएका उनले डेढ बिघा जग्गा भाडामा लिएका छन् ।
वर्षमा सार्कीले रु सात लाख बढीको तरकारी बिक्री गरी गतिलो आम्दानी लिँदै आएका छन् । तरकारीखेतीको कमाइबाट चार जनाको परिवारको खर्च समेत धानेका छन् ।
अरुको जग्गामा बस्दै आएका सार्कीले तरकारीखेतीबाट आएको आम्दानीबाट घरबासका लागि एक कट्ठा जग्गा खरिद गरेका छन् । ‘तरकारीखेतीको आम्दानीको रकम खर्च गरी छोरीको बिहे गरेँ’, सार्कीले भने, ‘जग्गा खरिद गर्दा लागेको ऋण तिर्न भ्याएँ, घरको पूरै खर्च तरकारीखेतीले धानिएको छ ।’
तरकारीखेती नै कमाइ गर्ने एकमात्र माध्यम रहेको सार्की बताउँछन् । पहिले नदीको बगरमा सार्कीले मौसमी रूपमा तरकारीखेती गर्थे । बगरखेती गर्दै जाँदा व्यावसायिक खेती गर्ने हिम्मत जागेको उनी बताउँछन् ।
आफन्तबाट केही रकम सापटीका रूपमा लिएर तरकारीखेती गरेको विगत सम्झिँदै सार्की भन्छन्, ‘पहिलो वर्षमै गतिलो आमदानी हात लागेपछि त्यो रकम तिर्न भ्याएँ, बचेको रकम तरकारीखेतीमै लगाएर काम गर्दै गए’, उनी भन्छन्, ‘त्यसपछि पैसाका लागि कसैलाई गुहार्नुपरेको छैन ।’
कृषि ज्ञान केन्द्रबाट सार्कीले व्यावसायिक तरकारीखेतीसम्बन्धी तालिम लिएका छन् । तालिम लिएपछि तरकारीखेती गर्ने आधुनिक तौरतरिका सिकेर उनी निपुण भएका छन् । तरकारीमा वडामै एक्लो किसान भएकाले नगरपालिकाबाट पनि सार्कीले टनेल अनुदानमा प्राप्त गर्नुभएको छ । प्लाष्टिकको टनेलमा उहाँले तरकारी उत्पादन गर्दै आएका छन् ।

प्रतिक्रिया