सोमबार, वैशाख १५, २०८२

स्रोत नखुलेको रकम सहित तीन जना पक्राउ

नेपालखोज २०८१ फागुन ५ गते १४:४५

धनुषा । जनकपुरधाम उपमहानगरपालिका–८ बाट स्रोत नखुलेको नगद ५७ लाख ८४ हजार ६ सय ३५ रूपैयाँ, ३ थान मोबाइल र १ थान ल्यापटप सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिराहा कर्जन्हा नगरपालिका–९ बस्ने ३९ वर्षीय भुवनेश्वर राउत, भारत बिहार राज्य सितामढी थाना परिहार ग्राम पञ्चायत बराही बस्ने ४२ वर्षीय जामुन नायक र जनकपुरधाम उपमहानगरपालिका–८ स्थित न्यू अनुष्का मनी ट्रान्सफर ट्रेडर्सका कर्मचारी सोही उपमहानगरपालिका–८ बस्ने २६ वर्षीय जेनिस साह रहेका छन् ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले भुवनेश्वर र जामुनलाई नगद १० लाख रूपैयाँ, २ थान मोबाइल तथा जेनिसलाई ४७ लाख ८४ हजार ६ सय ३५ रूपैयाँ, मोबाइल १ थान र ल्यापटप १ थान सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

झापाको अर्जुनधारा नगरपालिका–७ स्थित मधुगिता क्रसर उद्योगमा को.१ ख ७०१४ नम्बरको टिपरको ठक्करबाट सोही क्रसरमा काम गर्ने हल्दिबारी गाउँपालिका–२ बस्ने २४ को मोहन किस्कुको आइतबार साँझ घटनास्थलमै मृत्यु भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तनहुँको ब्यास नगरपालिका–१२ देउरालीस्थित सडकमा ग.२१ प १८७३ नम्बरको स्कुटर अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ४२ वर्षीय धर्म बहादुर थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो ।

बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२२ स्थित सडकमा अनटेष्ट लेखिएको स्कुल बसले प्र.२–०३–०१३ प ३२३३ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार रौतहट राजदेवी नगरपालिका बस्ने ३३ वर्षीय भोला प्रसाद यादवको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सहकारी अस्पताल हेटौंडा मकवानपुरमा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया