संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षा चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षालाई चिर्ने प्रयास भइरहेको बताएका छन् । सोमबारदेखि सुर्खेतमा सुरु कर्णाली उत्सवको छैटौँ संस्करणलाई सम्बोधन गर्दै उनले कर्णाली समस्यै समस्याको खाल्डो मात्र नभई सम्भावनाको सरोवर समेत भएको बताए ।
मुख्यमन्त्री कँडेलले पछिल्लो पटक संघीय सरकारले कर्णालीका केही महत्वपूर्ण सडकको स्तरोन्नतिको लागि अहिलेसम्मकै धेरै बजेट विनियोजन गरेको जनाए ।
मुख्यमन्त्री कँडेलले कर्णालीका हरेक जिल्लामा सम्भावनाका प्रशस्त आधार रहेको औंल्याए । उनका भनाइमा आर्थिक, धार्मिक र सांस्कृतिक दृष्टिले उत्तर र दक्षिण व्यापारको ढोका कर्णालीमै छ । कर्णालीले मानसरोवर एवं मध्य एसिया पुग्ने सिल्क रोडलाई प्रतिनिधित्व गर्छ । हिमाल, पहाड, नदी, वनजंगल, कृषि भूमिलगायत औषधिजन्य उत्पादनको सम्भावना कर्णालीमै छ ।
मानसरोवर मार्ग, फोक्सुण्डोलगायत साँंस्कृतिक र प्राकृतिक भूमिले कर्णालीलाई राष्ट्रिय मात्र होइन अन्र्तराष्ट्रिय पहिचान बढाएका मद्दत गरेका छन । कर्णालीको पानी र जडीबुटी संसारकै उत्कृष्ट छ । तर यति हुँदाहुदै पनि कर्णाली भन्ने वित्तिकै दुर्गम, अभाव र विकटको पहिचान बनाउने प्रचलित मान्यता अझै यथावत रहेको टिप्पणी गरे ।
पूर्वाधार, पहुँच, जागरण र सुधारका सूचकहरुले कर्णाली अब हिजोको जस्तो भोक र शोकको पर्याय नभएको मुख्यमन्त्री कँडेलको भनाई छ । ‘सबै काम प्रदेश सरकारले गर्न सक्दैन र अधिकार क्षेत्रभित्र पनि पर्दैन् । आफनो अधिकार क्षेत्र पर्ने कामहरु इमान्दारिता पूर्वक गर्ने र आफ्नो अधिकार क्षेत्र बाहिरका विषयहरु संघीय सरकारलाई महशुस गराउने दृढ अभियानमा म लागिरहेको छु, उनले भने ।
फरक प्रसंगमा मुख्यमन्त्री कँडेलले लोकतन्त्रको विकल्प अझ सहभागितामूलक उन्नत लोकतन्त्र नै रहेको विचार व्यक्त गरे ।
कर्णाली उत्सवको छैटौं संस्करणको उद्घाटन समारोहमा बोल्दै वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यकारी निर्देशक डा द्धारिका उप्रेतिले तीन वटै तहका सरकारले रोजगारी र उत्पादनसंग सम्बन्धित कार्यक्रमलाई जोड दिनुपर्ने बताए । वैदेशिक रोजगारले तत्कालीन आवश्यकतालाई मात्र व्यवस्थापन गर्ने भएकाले दिगो विकासका लागि स्वदेशमै उद्यमशिलता र उत्पादनमा जोड दिनुपर्ने उनको भनाई थियो ।
नेपाल सरकारका पूर्व सचिव केवलप्रसाद भण्डारीले कर्णालीमा निरन्तर एउटा सामाजिक संवादको शृङ्खला सुरु गरौँ भनेर कर्णाली उत्सव सुरु गरिएको बताए ।
प्रतिक्रिया