सोमबार, वैशाख १५, २०८२

‘गैरसरकारी संस्थाले स्थानीय समुदायको चाहना अनुरुप परियोजना छनौट गर्नुपर्छ’

नेपालखोज २०८१ फागुन ५ गते १७:०२

ललितपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गैरसरकारी संस्थाले परियोजना छनौट गर्दा स्थानीय समुदायको चाहना अनुरुप गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसको गैरसरकारी संस्था समन्वय विभागद्वारा आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘गैरसरकारी संघसंस्थाको वर्तमान अवस्था र नेपाली कांग्रेसको नागरिक समाज तथा गैरसरकारी संस्थासम्बन्धी नीति’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै सभापति देउवाले गैरसरकारी संस्थाले नेपालको सामाजिक विकासमा खेलेको भूमिका प्रशंसनीय रहेको बताए ।

‘नेपालमा सामाजिक सेवा गर्ने संस्था तथा नागरिक समाजको स्थापना, विकास र कामको अवस्था र स्वरुप फरकफरक देखिन्छ,’ सभापति देउवाले भने ।

गैरसकारी संस्था समय र सन्दर्भसँगै सामाजिक न्याय, लोकतन्त्र र मानवअधिकार, सुशासन, आर्थिक समृद्धि तथा समावेशी सिद्धान्तमा आधारित अन्तरराष्ट्रिय मूल्य मान्यतालाई अङ्गिकार गरी सरकारको सहयोगीको रुपमा काम गर्ने संस्था भएको उनको भनाइ थियो ।

‘यी सङ्घसंस्थाहरु भित्र पनि सुशासन, पारदर्शिता र आन्तरिक लोकतन्त्र मजबुत हुनुपर्छ भन्ने आवाज छ,’ सभापति देउवाले भने । उनले जलवायु परिवर्तनका कारण नेपालका हिमाल नाङ्गिएकोप्रति चिन्ता व्यक्त गरे ।

‘हाम्रा हिमाल नाङ्गिरहेका छन्, जलवायु परिवर्तनले नाङ्गा भएका हिमाल कसरी जोगाउने भन्नेबारेमा गैरसकारी संस्थाले नीतिगत पैरवीदेखि हिमाल जोगाउने अभियान सञ्चालन गर्नुपर्छ, यससम्बन्धी धेरै ध्यान दिने विश्वास लिएको छु,’ उनले भने ।

सभापति देउवाले मानवअधिकार, सुशासन, समावेशितालगायत विषयमा गैरसकारी संस्थाहरुले प्रभावकारी काम गर्दै आएको बताए ।

प्रतिक्रिया