भद्रपुर झापा गोल्डकपमा नेपालसहित चार देशका १० टोली सहभागी हुँदै

झापा । दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ मा नेपाल, भारत, भुटान र बङ्गलादेशका १० टोली सहभागी हुने भएका छन् । यही फागुन ७ देखि फागुन १६ गते मेची रङ्गशालामा प्रतियोगिताका खेल हुँदैछन् ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा झापा गोल्डकपका अध्यक्ष दीपेश ढकालले २० हजार दर्शक अटाउने गरी स्थायी र बाँसको अस्थायी प्याराफिट निर्माण गरिएको बताए । दर्शकले क्वाटरफाइनलसम्मका खेल हेर्न २०० रुपैयाँ, सेमिफाइनलमा ३०० रुपैयाँ र फाइनलका लागि बाँसको अस्थायी प्याराफिटमा ३०० रुपैयाँ तथा पक्की प्याराफिटका लागि ५०० रुपैयाँ टिकट दर कायम गरिएको उनले जानकारी दिए ।
प्रतियोगितामा घरेलु टोली भद्रपुर ब्लेजर्स, ए डिभिजन क्लब चर्च ब्याइज युनाइटेड, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, न्यु रोड टिम, सशस्त्र प्रहरीको एपिएप एफसी र झापा ११ गरी सात नेपाली टोली सहभागी हुँदैछन् ।
यसैगरी भारतको दार्जिलिङ पुलिस एफसी, भुटानको ट्रान्सपोर्ट युनाइटेड एफसी र बङ्गलादेशको काउर्न बजार प्रगति सङ्घ गरी तीन विदेशी टोली सहभागी हुनेछन् । प्रतियोगिताको विजेता टोलीले नगद १३ लाख रुपैयाँ तथा उपविजेताले नगद सात लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद रु एक लाख पाँच हजार, उत्कृष्ट गोल किपर, उच्च गोलकर्ता, उदियमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई २१ हजार रुपैयाँ नगद पुरुस्कार प्रदान गरिनेछ । प्रतियोगिता सम्पन्न गर्न एक करोड ७८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष ढकालले जानकारी दिए ।
प्रतिक्रिया