देवघाट महा-महोत्सवमा २७ करोडभन्दा बढी संकलन

चितवन । देवघाटधाममा माघ महिनाभर सञ्चालन गरिएको देवघाट महा-महोत्सव २०८१ मा २७ करोड ४५ लाख ५७ हजार ९८० रुपैयाँ भएको छ ।
आयोजक विश्वजागरण महाअभियान ट्रष्टले आज देवघाटमा गरेको पत्रकार सम्मेलनमा आयव्यय सार्वजनिक गर्दै महा-महोत्सवमा देशका विभिन्न जिल्लाबाट र विदेशबाट आएका भक्तजनबाट सो रकम सङ्कलन भएको जानकारी दिएको हो । यसबाहेक भक्तजनबाट बोलकबोल ८० लाख रुपैयाँ संकलन हुन बाँकी छ ।
महा-महोत्सवका संयोजक डा केशवराज भुर्तेलका अनुसार देश विदेशबाट यहाँ आएका करिब ३० लाख भक्तजनबाट सो रकम संकलन गरिएको हो । उनले महोत्सव सम्पन्न गर्न तीन करोड ४८ लाख ४८ हजार १०७ रुपैयाँ खर्च भएको पनि जानकारी दिए ।
मातापिता आश्रम तथा देवघाट दिव्यधाम निर्माणार्थ आयोजना गरिएको महामहोत्सवमा सङ्कलित रकममध्ये ट्रष्टको बैंक खातामा २५ करोड ७७ लाख १७ हजार ६०५ रुपैयाँ र दान पेटिकामा एक करोड ६८ लाख ४० हजार ३७५ रुपैयाँ जम्मा भएको त्यस अवसरमा जानकारी दिइयो ।
महोत्सवको समयमा देवघाट क्षेत्रमा विभिन्न नौ वटा धार्मिक सङ्घ संस्थाले यहाँ विभिन्न धार्मिक अनुष्ठान तथा आर्थिक एवं जिन्सी सङ्कलन गरेको त्यस अवसरमा जानकारी दिइयो । एक महिना यहाँ भएको धार्मिक महोत्सवले देवघाट क्षेत्रमा मात्र दानसहित डुङ्गा, पार्किङ, होटल, खाजाघर, अस्थायी स्टल, यातायातलगायतका क्षेत्रमा करिब दुई अर्ब रुपैयाँ कारोबार भएको अनुमान गरिएको छ ।
महा-महोत्सवमा सङ्कलन भएको ७० लाख रुपैयाँभन्दा बढीको जिन्सी सामग्री देशभरका ३० भन्दा बढी गुरुकूल, अनाथालय, अपाङ्ग आश्रम, गौशाला र वृद्धाश्रममा गरी ५० भन्दा बढी संस्थालाई वितरण गरिएको जानकारी दिइयो । ट्रष्टका अध्यक्ष ईश्वरकृष्ण महाराजले भक्तजनको विश्वास टुट्न नदिने गरी काम गर्ने बताए । महोत्सवमा ६७ हजार ८५९ रसिद काटिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
ईश्वरकृष्णको नेतृत्वमा देवघाट गाउँपालिकामा मातापिता आश्रम निर्माण भइरहेको छ । आश्रममा ३६५ कोठा निर्माण गरिने जनाइएको छ । त्यसका लागि दुई अर्ब रुपैयाँ खर्च हुनेछ ।
प्रतिक्रिया