अध्यादेशहरूको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीकाे निर्णय

काठमाडाैं । नेकपा एकीकृत समाजवादीले सरकारले ल्याएका अध्यादेशहरुको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको स्थायी कमिटीको बैठकले संसद अधिवेशनको संघारमा संसदलाई छलेर सरकारले विभिन्न अध्यादेशहरू जारी गर्नु गलत भएको भन्दै अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका प्रचार बिभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।
समितिमा छलफल भइरहेको विधेयकसमेत फिर्ता नलिई सरकारले संविधान, ऐन कानून, संसद नियमावली र स्थापित अभ्यासहरूसमेत मिचेर विद्येयक ल्याउनु प्रक्रियागत रूपमा नै गलत रहेको उहाले बताए ।
ज्वालाले अध्यादेशहरूबाट भूमाफिया, कालोबजारीया, राजस्व छली गर्ने व्यक्ति, विचौलिया, भ्रष्टचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने निश्कर्ष निकालिएको जानकारी दिए ।
त्यस्तै बैठकले भारतको ओडिसास्थीत एक क्याम्पसमा नेपाली विधार्थीमाथि भएको घटनाप्रति सत्यतथ्य छानबिन गरि दोषिलाई कारबाही गर्न र विद्यार्थीहरूलाई सुरक्षाको प्रत्याभूति हुने गरि व्यवस्था मिलाउनका लागि कूटनीतिकलगायत आवश्यक पहल गर्न सरकारसंग माग गरिएको प्रचार बिभाग प्रमुख ज्वालाले जानकारी दिए ।
त्यस्तै स्थायी कमिटीको बैठकले अध्यक्षको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, र आन्दोलनद्वारा पार्टी निर्माण सम्बन्धी आगामी कार्ययोजनासहितका एजेण्डा पारित गरिएको ज्वालाले बताए । पार्टीको स्थायी कमिटी बैठक बुधबार पुन बस्ने नेकपा समाजवादी बैठकले जनाएको छ ।
प्रतिक्रिया