शुक्रबार, पुष ४, २०८२

बिक्री भएन ऊन, विस्थापित हुने जोखिममा ‘भेडिहार’

नेपालखोज २०८१ फागुन ८ गते १०:२५

भैरहवा (रुपन्देही) । कोटहीमाई गाउँपालिका– ५ देवनबक्सापुरका रामायन पालले विगत २० वर्षदेखि भेडा पालन गर्दै आएका छन् । उनको अधिकांश समय घर बाहिर नै बित्ने गरेको छ ।

भेडा चराउन पाल मर्चवार मात्र नभई भैरहवा, लुम्बिनीलगायत क्षेत्रमा लैजानुहुन्छ । करिब तीन सय भेडाबाट सुरु भएको ‘भेडिहार’ पालको यो यात्रामा बिराम लाग्ने अवस्था उत्पन्न भएको छ । हाल उनीसँग ३५ वटा मात्र भेडा छन् । यसअघि चरन क्षेत्रको समस्या थियो नै अब भेडाको ऊन नै बिक्री हुन छाडेपछि पाल मात्र होइन भेडिहार समुदायको पेसा नै लोप हुने अवस्था छ ।

मर्चवारको मुख्य बाटोमा भेडाको रौँ काटेर यत्रतत्र फालिएको भेटिन्छ । भेडाको ऊन बिक्री हुन छोडेपछि भेडिहारले जहा रौँ काट्यो त्यही छोडेर हिँड्ने गरेका छन् । ऊन नै बिक्री हुन छोडेपछि विस्तारै उनीहरुको रुचि यसबाट घट्न थालेको छ । पहिला मसँग तीन सय बढी भेडा थिए, ऊन पनि एक सय किलोभन्दा बढी बेच्ने गरेको थिएँ । पालले भने, केही वर्षयता ऊन बिक्नै छोडेको छ । त्यसैले अहिले सङ्ख्या घटाएर ३५ मात्र पालेको छु ।

यसअघि विभिन्न स्थानबाट क्रेताहरु भेडिहार खोज्दै उनीहरुको घर वा चरनस्थलमै पुग्ने गरेका थिए । तराईमा सामान्यतः भेडाको मासु पनि खाइँदैन । त्यसैले भेडा पाल्नेको अब आम्दानीको स्रोत शून्य भएको छ ।

भेडाको ऊनबाट बनेका कपडामा उपभोक्ताको रुचि घट्दै गएको कारण ऊन बिक्री नभएको कोटहीमाई गाउँपालिका–३ कुडसर बस्ने वरुनदेव पाल बताए । पहिला भेडाको ऊनबाट बनेको कपडाको माग उच्च रहेको थियो र यस पेसाबाट धानिन बल पुगेको थियो । उनले भने, अहिले त्यस्ता उद्योग बन्द हुँदै गएकाले पनि यसको माग नभएको हुन सक्छ ।

भेडाको ऊनबाट कम्बल, स्विटर, टोपीलगायत न्याना कपडा बुनिन्छ तर आधुनिक ब्लाङकेटले यसलाई विस्थापित गरेको छ । ब्लाङकेट रु दुईदेखि तीन हजारमा पाइन्छन् तर ऊनबाट बनाइएका कम्बल तुलनात्मक रुपमा महँगा भएकाले ऊनको माग घटेको उहाँको बुझाइ छ ।

यसबाहेक अहिले तराईमै भेडाहरुको लागि चरन क्षेत्रको समस्या पनि छ । पहिला धेरै खेत थिए चरन क्षेत्र पनि प्रशस्त हुन्थ्यो, स्थानीय नापु पालले सुनाए, चरनक्षेत्र अभावमा अब भेडा पाल्न गाह्रो छ ।

मर्चवारको कोटहीमाई गाउँपालिका–३र ५ को सम्मरीमाई गाउँपालिकालगायत जिल्लामा भेडा पाल्नेहरु उल्लेख्य सङ्ख्यामा थिए । एक दशकअघि ३० हजारभन्दा बढी भेडा आफूहरुले पालेको पालले बताए । चरन क्षेत्रको कमी, ऊन र दूध र मासु पनि बिक्री नहुने भएपछि घरखर्च जुटाउन बाध्य भएर वैकल्पिक पेसामा लाग्नुपरेको उनको गुनासो छ ।

भेडापालकलाई जोगाउन स्थानीय सरकारले सघाउनुपर्ने स्थानीयको माग छ । स्थानीय समाजसेवी गणेश पाल परम्परागत पेसालाई जोगाउन स्थानीय सरकारले सघाउनुपर्नेमा जोड दिए । ऊन खरिद र बजारीकरणमा पालिकाले सहयोग गर्नुपर्ने उनको सुझाव छ । यसले ‘एक स्थानीय तह, एक उत्पादन’को नीति कार्यान्वयन गर्न सहयोग पुग्ने उनले बताए ।

प्रतिक्रिया