राडीपाखी बुनेर जीविकोपार्जन गर्दै मुगुका किसान

नेपालखोज २०८१ फागुन ९ गते १०:३९

काँक्रेविहार (सुर्खेत) । मुगुको छायानाथ रारा नगरपालिका–११, रोवागाउँका जीतबहादुर बुढाले आफ्नै घरमा राडीपाखी बुनिरहेका छन् । राडीपाखी बेचेर घरखर्च टार्दै आएको उनले बताए । उद्यमी बुढा मात्र होइन रोवा गाउँका अन्य स्थानीयले पनि व्यावसायिक रूपमा भेडापालन गरी राडीपाखी उत्पादनमा गरिरहेका छन् ।

कृषिकर्मबाट मात्र हातमुख जोर्न नपुगेपछि राडीपाखी व्यवसायमा उनीहरूको आकर्षण बढेको हो । भेडाको ऊनबाट कम्बल, फेरुवा, पाखी, बुनेर उनीहरुले जीविकोपार्जन गरिरहेका छन् । स्थानीय बजारमा कम्बल र पाखी तीन हजारदेखि तीन हजार ५०० र फेरुवाको रु चार हजारमा बिक्री हुन्छ । सिजनमा राडीपाखीबाट रु २० हजारसम्म कमाइ हुने उनको भनाइ छ ।

भेडाबाट ऊन निकालेर बुनाइ गर्दासम्म धेरै दुःख हुने गरे पनि आफ्नो कमाइप्रति सन्तुष्ट रहेको उनको भनाइ छ । नगरपालिकाको रोबार्याङच्याकाटी गाउँका एक सय ६९ परिवारमध्ये अधिकांश परिवारको मुख्य पेसा पनि राडीपाखी व्यवसाय गरिरहेका छन्  । गाउँका महिलाले राडीपाखा बुन्छन् । पिना, मुन्दु, कोटिला गाउँका अधिकांश स्थानीय राडीपाखी बुनाइमा लागेको वर्षौं भइसक्यो ।

नगरपालिकाको लेकाली बस्तीमा भेडापालन व्यवसाय फस्टाउँदै गएको छ । भेडाको ऊनबाट स्थानीय पहिरन लिउ, फेरुवा, पाखो, कम्मललगायत सामग्री उत्पादन हुने गरेको छ । एउटा फेरुवा र कम्बल बनाउन १० दिनसम्म लाग्ने गरेको स्थानीयको भनाइ छ । राडीपाखी बेच्न गमगढी, नेपालगञ्ज र सुर्खेतसम्म पुग्ने गरेको थार्प गाउँका हीरालाल बोहोराले बताए । अघिल्लो पुस्ता राडीपाखीको कमाइमै निर्भर छ । घरमा ४० देखि ५० वटा भेडा पाल्न सकिएको खण्डमा एक वर्ष १५ देखि २० वटा राडीपाखा उत्पादन गर्न सकिने उनले बताए ।

भेडाको ऊनबाट गलैँचा उत्पादनको लागि धेरै पटक जिल्ला घरेलु कार्यालयमा तालिम र मेसिनको माग गरे पनि सुनुवाइ नभएको उनको गुनासो छ । जिल्लामा पाँच हजार ५०० मा बिक्री हुने राडीपाखी सहरमा आठ हजारसम्ममा बेचिने गरेको छ ।

प्रतिक्रिया