शुक्रबार, पुष ४, २०८२

कमाण्ड एण्ड स्टाफ तालिमका अधिकृतबाट नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण

नेपालखोज २०८१ फागुन ९ गते १२:४८

काठमाडौं । सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा संचालित कमाण्ड एण्ड स्टाफ कोर्स सि.सं.३१ का तालिमरत ६७ जना अधिकृतबाट नेपाल प्रहरी प्रधान कार्यालयको बिहीबार अवलोकन भ्रमण सम्पन्न भएको छ ।

अवलोकन भ्रमणमा सहभागी अधिकृतलाई नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले स्वागत गर्दै भम्रण कार्यक्रम सम्बन्धी जानकारी गराएका थिए ।

याे क्रममा सहभागी अधिकृतले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याब, पोलिग्राफ सेक्सन, डाटा सेन्टर र प्रहरी सङ्ग्रहालय समेतको अवलोकन गरे । अवलोकन पश्चात आयोजित कार्यक्रममा प्रहरी नायव महानिरीक्षक आचार्यले नेपाल प्रहरीको परिचय, विकासक्रम, काम, कर्तव्य र वर्तमान अवस्था, नेपाली सेना र नेपाल प्रहरी बिचको समन्वय र सहकार्यको क्षेत्र, प्रदेश समायोजन लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

साथै उनले अन्तरक्रियाको क्रममा तालिमरत अधिकृतहरूले नेपाल प्रहरी सम्बन्धी विविध विषयमा राखेका जिज्ञासाहरूको निरूपण गर्दै समाजमा शान्ति सुरक्षा कायम गर्न दुवै संगठन बिच सूचनाको आदान प्रदान, आपसी सहयोग र समन्वय भइरहने बताए ।

याे कार्यक्रममा सेनानी सुमन बिक्रम शाहले भ्रमणमा सहभागी तालिमरत अधिकृतको तर्फबाट धन्यवाद सहितको मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया