चेक रिपब्लिक पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा दमक नगरपालिका–५ घर भई काठमाडौं महानगरपालिका–७ बस्ने २७ वर्षीय डाईमण्ड सम्बाहाम्फेलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
डाईमण्डले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ३८ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–७ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ
नक्कली सुन देखाई ठगी गर्ने कार्यमा संलग्न दुई जना पक्राउ
नक्कली सुन देखाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर थिमी नगरपालिका बोडे डेरा गरी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ घर भएका ६२ वर्षीय धनजित तामाङ र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–४ धार्पा घर भएका ४८ वर्षीय दल बहादुर तामाङ रहेका छन् ।
विगत एक महिना देखि भक्तपुरका विभिन्न स्थानहरूमा नक्कली सुन देखाई सर्वसाधारणहरूलाई ठगी गर्ने गिरोह सक्रिय रहेको भन्ने सूचना प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मातहत अपराध शाखा भक्तपुर र पिसिसिबि थिमीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं कागेश्वरी मनोहरा–६ मुलपानीबाट पक्राउ गरेको हो ।
साथै प्रहरीले उनीहरूको साथबाट १ किलोग्राम बराबरको बिस्कुट आकारको पहेंलो धातु १ थान र पिलास १ थान समेत बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।
प्रतिक्रिया