शुक्रबार, पुष ४, २०८२

रत्न माध्यमिक विद्यालय भवन जीर्ण : अश्वासन पाइने तर काम नहुने

नेपालखोज २०८१ फागुन १० गते ६:५९

कञ्चनपुर । बेदकोट नगरपालिका १० चतहरीमा रहेको रत्न माध्यमिक विद्यालय अभावै अभावमा सञ्चालन हुदै आएको छ । पुराना जीर्ण जस्तापाताको छानो भएका भवनमा विद्यार्थीलाई पठनपाठनको कार्य गराउन निकै समस्या हुने गरेको छ ।

विद्यालयमा रहेका आठ भवनका १२ कक्षा कोठा मध्ये आठ कक्षा कोठा मात्रै प्रयोग गर्न योग्य रहेको विद्यालयका प्रद्यानाअध्यापक शेरबहादुर सार्कीले बताए ।

वर्षातका बेला भवन चुहिने भएकाले पठनपाठनमा समस्या हुने गरेको उनले बताए । उनका अनुसार हिउद र गर्मीका बेला पानी नपर्दा सम्म भवन प्रयोग गर्न सकिने भएपनि जस्तापातामा खिया लागेर प्वालै प्वाल परेकाले वर्षातमा भवन प्रयोग गर्न सकिँदैन । खानेपानीको पाईप विद्यालय सम्म ल्याइए पनि निकै कम मात्रै पानी आउने भएकाले विद्यार्थी शिक्षकलाई खानेपानीको पनि समस्या उत्तिकै रहेको छ ।

विद्यालयमा अध्ययन गर्ने विद्यार्थी मध्ये ९० प्रतिशत जनजाती र दलित समुदायका रहेका छन । दश प्रतिशत विद्यार्थी मात्रै अन्य समुदायका रहेका छन् ।

अभिभावकको आर्थिक अबस्था दयनिय हुदा विद्यालया भौतिक संरचना निर्माणमा सहयोग गर्नका लागि आर्थिक सहयोग माग्न नसकिएको प्रअ सार्कीको भनाई रहेको छ ।

विद्यालयमा कुल विद्यार्थीको सङख्या पाँच सय ५५ रहेको छ । ती मध्ये ६० प्रतिशत छात्रा रहेका छन । नियमित विद्यालय आउने विद्यार्थीको सङख्या ७० प्रतिशत रहेको छ ।

बालबालिकालाई विद्यालय पठाउनुपर्छ भन्ने अभिभावकमा चेतनाको कमी हुदा ३० प्रतिशत विद्यार्थी नियमित विद्यालय नआउने गरेको प्रअ सार्की बताउनुहुन्छ । आर्थिक विपन्नताका कारण धेरै जसो अभिभावकहरु घरायसी गर्जो टार्नका लागि भारत तर्फ जाने भएकाले केही बालबालिका बृद्ध बाजे बज्यै संग बस्ने गरेका छन् । रासस

प्रतिक्रिया