चेतनाको अभावले घरमै हुन्छन् सुत्केरी

गलकोट । बागलुङको निसीखोला गाउँपालिकामा गत वर्षमात्र ६० जनाभन्दा बढी घरमै सुत्केरी भए । दुई सुत्केरीको अकालमै ज्यानसमेत गयो । चेतनाको कमी, अशिक्षा र भौगोलिक विकटताका कारण निसीखोलाका केही दुर्गम गाउँमा अझै स्वास्थ्य जागरण पुग्न नसकेको हो ।
निसीखोलामा घरमै हुने सुत्केरीको सङ्ख्या पालिकाको तथ्याङ्कमा आउन नसक्दा झनै समस्या थपिएको छ । गत वर्ष निसीखोला गाउँपालिकामा दुई सय १३ जना संस्थागत सुत्केरी भएको तथ्याङ्क भए पनि घरमै हुने सुत्केरीको तथ्याङ्क सङ्कलनमा समस्या छ ।
अझै पनि चेतनाको अभावमा निसीखोलाको दुर्गम गाउँमा घरमै सुत्केरी हुने गरेको पाइएको छ । यहाँको दुर्गम गाउँ चुसिबाङ, तिघ्रापानी, भुर्वाङ र निसेलढोरजस्ता गाउँमा गर्भवतीको ४० प्रतिशत घरमै सुत्केरी हुने गरेको पाइएको छ ।
अशिक्षा, गरिबी र भौगोलिक विकटताका कारण निसीखोलामा होमडेलिभरी पछिल्लो समय चुनौती बन्दै आएको निसीखोला स्वास्थ्य शाखाले जनाएको छ । जनचेतनामूलक कार्यक्रम गरिरहेको पालिकाले सबै गर्भवतीलाई स्वास्थ्य संस्थाको पहुँचमा ल्याउन नसकेको स्वास्थ्य शाखा प्रमुख जुनी घर्तीमगरले जानकारी दिइन् ।
गत आर्थिक वर्षमा निसीखोला गाउँपालिकामा दुई सय १३ जना संस्थागत सुत्केरी भएका थिए । बागलुङको अधिकांश स्थानीय तह शून्य होमडेलिभरी उन्मुख रहेका छन् । निसीखोला गाउँपालिकामा भने घरमै सुत्केरीलाई मुख्य समस्याको रूपमा लिइएको छ । यहाँको दूर–दराजमा अझै पनि अस्पतालको पहुँचमा आउन नचाहने, अशिक्षा, गरिबीलगायत कारण घरमै सुत्केरी हुने गरेको पाइएको छ । घरमै सुत्केरी हुने महिला अधिकांश दलित समुदायका रहेको स्वास्थ्य शाखा प्रमुख मगरले बताइन् ।
मगरका अनुसार बालविवाह र घरमै सुत्केरी निसीखोलाको चुनौतीको विषय रहेको छ । उनीहरू अस्पताल आउनै नमान्ने, गर्भवती भएको जानकारी नदिने र महिला स्वास्थ्य स्वयंसेविकालाई ढाँट्ने गर्दछन् । निसीखोला गाउँपालिका–६ चुसिवाङ गाउँमा मात्रै १२ आमामध्ये छ आमा घरमै सुत्केरी भएको स्थानीय महिला स्वास्थ्य स्वयंसेविका मनिमला घर्तीले जानकारी दिनुभयो । उहाँले घरमै सुत्केरी हुनेमध्ये न्यून आय भएका तथा दलित समुदायका महिला बढी छन् ।
निसीखोला गाउँपालिकाका अनुसार गत आर्थिक वर्षमा संस्थागत सुत्केरी भएका दुई सय १३ मध्ये ५८ सुत्केरी २० वर्षभन्दा मुनिका भेटिएका छन् । यस्तै चालु आर्थिक वर्षमा समेत १८ जना २० वर्षभन्दा मुनिकाले बच्चा जन्माइसकेको पालिकाको स्वास्थ्य शाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ । बालबिबाहलाई लुकाउनसमेत संस्थागत सुत्केरी हुन नचाहने गाउँपालिकामा रहेका छन् । रासस

प्रतिक्रिया