सबैको रोजाइ बन्दै कुञ्जपार्क

तिलोत्तमा (रुपन्देही) । बुटवल ११ मा बस्ने उर्मिला रेगाली मगरको रोजाइ अचेल कुञ्ज पार्क बनेको छ । उनलाई कतै घुम्न र रमाइलो गर्ने खुला क्षेत्र जानुपरे कुञ्जपार्क नै जान मन लाग्छ । उनले कुञ्जपार्क मनपर्नुका कारण शान्त, शीतल, मन लोभ्याउने र मनै आनन्दित बनाउने वातावरण भएकाले त्यही जान मन लाग्ने गरेको बताइन् ।
पार्कमा पुग्दा मन आनन्द हुन्छ । बुटवलको कोलाहलले दिक्क बनाएका बेला त्यहाँ छुट्टै आनन्द आउँछ, उनले भनिन्, त्यसैले धेरै पटक कहिले घुम्न, कहिले पिकनिकको बहानामा त्यहाँ धेरैपटक पुगेकी छु । यता तिलोत्तमा नगरपालिका–६ कि अञ्जना अर्याल पनि धेरैपटक कुञ्ज पार्क पुगेको बताइन् । उनी पनि समय मिल्नासाथ त्यहाँ पुग्ने गरेको बताइन् । वनभोज र घुम्न धेरैपटक कुञ्ज पार्क गएको अञ्जनाले सुनाइन् ।
केटाकेटी, युवायुवतीदेखि ज्येष्ठ नागरिकलाई पनि पार्क आकर्षणको केन्द्र बनेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ मा रहेको कुञ्जपार्क पछिल्लो समय धेरैको रोजाइमा परेको छ । कुञ्जपार्कमा दैनिक करिब तीन सयको हाराहारीमा आन्तरिक र बाह्य पर्यटक घुम्न आउने गरेका छन् । रुपन्देहीसँगै कपिलवस्तु, पाल्पा र भारतको नौतनहवाबाट पार्क अवलोकनका लागि पर्यटक पुग्ने गरेको पार्कका अध्यक्ष लोक पुनले बताए ।
पार्कमा घुम्न र यहाँको शान्त मनोरम वातावरणमा अनन्द लिन मासिक १० हजारको सङ्ख्यामा पर्यटकहरु आउने गरेको पार्कका कोषाध्यक्ष धनेन्द्र पौडेल बताए । उनले वनभोजको समय र अन्य समयमा गरी प्रवेश शुल्क टिकटबाट वार्षिक करिब रु ४० लाख आम्दानी हुने गरेको उनले बताए । यसबाट पार्कमा चार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने आवश्यकताअनुसार आंशिक रुपमा धेरैले यहाँ काम गर्ने अवसर पाएका छन् ।
विसं २०६६ मा स्थापना भएको पार्कको मुख्य विशेषता त्यहाँ रहेको तलाउ हो । करिब एक बिघा क्षेत्रफलमा फैलिएको सो पोखरीमा सयरका लागि तीन वटा डुङ्गा सञ्चालनमा छन् । जाडो होस् वा गर्मी मौसम सो डुङ्गा कहिल्यै खाली हुँदैन । डुङ्गा सयर गर्दा रु ५० शुल्क तोकिएको छ । यसबाहेक छ वटा पिकनिक सेडहरु निर्माण गरिएका छन् । पार्कमा रहेका पानीका फोहरा, कुञ्ज क्याफे, मनमोहक बगैँचा, पुरानो समइमाई मन्दिर, बाल उद्यान, हरियाली र शान्त वातावरणको कारण त्यहाँ पुग्नेहरुको भीड हुने र वनभोजको समयमा निकै भिडभाड हुने गरेको पार्कका कोषाध्यक्ष पौडेल बताए ।
प्रतिक्रिया