प्रहरी महानिरीक्षक कुँवरबाट नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्घाटन

बाँके । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्प कोहलपुरको सोमबार एक कार्यक्रमबीच उद्घाटन गरेका छन् । साथै उनले उक्त नवनिर्मित पेट्रोल पम्प तथा भवनको निरीक्षण गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गरे ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षाको साथै समाजका विभिन्न क्षेत्रमा सहकार्य गर्दै आमनागरिकमा सेवा पुर्याउँदै आएको चर्चा गर्दै आज उद्घाटन भएको प्रहरी पेट्रोल पम्प नेपाल प्रहरीको मात्र नभई सबैको साझा सम्पत्ति भएको हुँदा यसले नेपाल प्रहरी तथा आमनागरिकका सवारी साधन समेतलाई सरल र सहज रूपमा इन्धन आपूर्ती गराउनुका साथै विशेष परस्थितिमा समेत इन्धनको आवश्यक्ता पूर्ती गर्न सहज हुने विश्वास व्यक्त गरे ।
प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी शान्ति सुरक्षाको सन्दर्भमा आमजनता केन्द्रीत सेवा प्रदान गर्ने राज्यको विश्वासिलो र भरोसायोग्य संगठनको रूपमा रहेको बताउँदै आम नागरिकमा निष्पक्ष सेवा प्रवाह र प्रदेशको समग्र शान्ति सुव्यवस्था कायम राख्न समुदायसँग सहकार्य गरी योजनाबद्ध ढंगबाट प्रभावकारी प्रहरी परिचालन गर्न निर्देशन दिए ।
कार्यक्रममा नेपालगंज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट एवम् बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया