आँखा उपचारमा फड्को मार्नु देशकै लागि गौरवको विषय हो : उपराष्ट्रपति यादव

पर्सा । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आँखाको उपचारमा नेपालका अस्पतालले फड्को मार्दै गएको बताएका छन् । रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालको स्वर्ण महोत्सवको आज यहाँ उद्घाटन गर्दै उनले आँखाको उपचार क्षेत्रमा फड्को मार्नु यस क्षेत्रका लागि मात्रै नभएर सिङ्गो मुलुकको लागि गौरवको विषय भएको बताए ।
‘केडिया आँखा अस्पतालले मधेस मधेसमा मात्रै नभई बागमती र छिमेकी मुलुकका जनतालाई पनि गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्दै आइरहेको छ,’ उपराष्ट्रपति यादवले भने, ‘दक्ष जनशक्तिबाट मधेश प्रदेशको बारा र पर्सा जिल्लाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने उद्देश्यको साथ सञ्चालित यो अस्पतालमा पछिल्लो समय बागमती प्रदेशको मकवानपुर, मधेस प्रदेशको रौतहट र सर्लाहीको पश्चिम भेग तथा छिमेकीमूलक भारतको विहार र उत्तर प्रदेशका जनसमुदायलाई पनि जनसेवा प्रवाह गर्दै आएको खुसी व्यक्त गर्दछु ।’
उपराष्ट्रपति यादवले केडिया आँखा अस्पतालले विगत ५० वर्षदेखि आँखाका बिरामीका लागि सहज पहुँचको व्यवस्था मिलाउँदै आइरहेको बताए । ‘यो क्षेत्रको महत्त्वपूर्ण हिस्सा रहेको यो अस्पतालले आफ्नोे स्थापनाकालदेखि आँखा उपचारमा उच्चस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आइरहेको छ,’ उनले भने, ‘समयानुकूल आँखा अस्पतालको सेवा पनि विस्तार गर्दै आइरहेको छ । आगामी दिनमा अझै गुणस्तरीय आँखाको उपचार सेवा प्रदान गर्न अनुरोध गर्दछु । ’
उपराष्ट्र यादवले सोमबार अस्पतालको स्वर्ण महोत्सवको अवसरमा निर्माण गरिएको दृष्टि स्तम्भ र अस्पतालको नयाँ प्रस्तावित भवनको शिलान्यास पनि गरे ।
रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालका अध्यक्ष राजेशकुमार केडियाले ५० वर्षअघि वीरगञ्जको लोहारपट्टीमा पाँच श्ययाको आँखा अस्पताललाई अहिले एक सय ७५ श्ययाको सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्न सकेको बताए ।

प्रतिक्रिया