शुक्रबार, वैशाख १२, २०८२

रुद्रतालको संरक्षण गर्दै ढोरपाटन

नेपालखोज २०८१ फागुन १५ गते ७:३०

ढोरपाटन (बागलुङ) । ढोरपाटन उपत्यका नजिकै पर्छ रुद्रताल । बुर्तिबाङ–ढोरपाटन सडक छेउमै पर्ने यस तालमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । धार्मिक महत्वसँग जोडिएको ताल पर्यटकको रोजाइमा पर्न थालेपछि ढोरपाटन नगरपालिकाले समेत संरक्षण गर्न थालेको छ ।

चालु आर्थिक वर्षमा ढोरपाटन नगरपालिकाले विजियोजन गरेको रु २५ लाखबाट ताल संरक्षणको काम अघि बढाइएको उपप्रमुख धनबहादुर कायत (कल्याण)ले जानकारी दिए । जङ्गलको बीचमा रहेको रुद्रताल प्राकृतिक रूपमै सुन्दर रहेको र त्यसलाई थप व्यवस्थित गर्न थालिएको उनले बताए ।

उक्त बजेटले यस वर्ष सडकदेखि तालसम्म रेलीङसहितको पदमार्ग, खानेपानी र घेराबार गरिने तयारी भएको उपप्रमुख कायतले बताए । यसअघि पनि ताल संरक्षणको काम गरिए पनि अझै व्यवस्थित हुन नसेको भन्दै उनले पर्यटकका लागि स्वच्छ खानेपानी र विश्राम स्थल निर्माणका विषयमा पनि कुरा भइरहेको सुनाए ।

तालमा वन्यजन्तुले पानी पिउन आउने हुँदा पर्यटकले नजिकैबाट अवलोकन गर्न सक्छन् । पछिल्लो समय यहाँ तालसँगै मृग, घोरललगायत वन्यजन्तु नजिकैबाट अवलोकन गरेर पर्यटकले थप आनन्द लिन थालेका छन् ।

भुजीखोलाको शिरमा पर्ने यो तालबाट बग्ने पानीले स्नान गर्दा छालासम्बन्धी रोग लाग्दैन भन्ने जनविश्वाससमेत रहेकाले पर्यटन प्रवर्द्धनमा थप टेवा पुगेको छ । नेपालकै एक मात्र ढोरपाटन सिकार आरक्ष जाने सडकसँग जोडिएपछि पछिल्लो समय ताल धेरैको रोजाइमा पर्न थालेको नगरपालिका–९ का वीरबहादुर घर्तिमगरले बताए ।

एक दशक अगाडिसम्म सुनसान रहेको तालमा हाल पर्यटकको निकै चहलपहल बढेको उहाँले जानकारी दिनुभयो । ताल वरपर बगैँचा, प्रतीक्षालय, शौचालय र खानेपानीको व्यवस्थापन गर्न सकेमा धेरै सहज हुने र आकर्षण थप बढ्ने घर्तिमगरको भनाइ छ । रासस

प्रतिक्रिया