बन्दीपुरमा आयोजित राष्ट्रिय साहित्यकार सम्मेलन सकियो

नेपालखोज २०८१ फागुन १५ गते १०:४९

तनहुँ । ‘पहाडकी रानी’ उपनामले परिचित पर्यटकीयस्थल बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि आयोजित तीनदिने राष्ट्रिय साहित्यकार सम्मेलन आज सम्पन्न भएको छ । गोरखापत्र संस्थान र पद्मा पुस्तकालयको आयोजनामा यही फागुन १२ देखि बृहत् साहित्यिक सम्मेलन आयोजना भएको हो ।

बन्दीपुरलाई साहित्यको माध्यमबाट प्रचारप्रसार गर्ने उद्देश्यले साहित्यिक सम्मेलन आयोजना गरिएको संयोजक एवं बन्दीपुर पद्मा पुस्तकालयका अध्यक्ष सुदर्शन प्रधानले जानकारी दिए ।

उनका अनुसार सम्मेलनमा छ प्रदेशका ३५ जिल्लाबाट १५ जातजातिका ५५ पुरुष र १३ महिला गरी ६८ जना साहित्यकारले सहभागिता जनाएका थिए । ‘देशैभरिका साहित्यकार बन्दीपुर आउन र यहाँको सुन्दरताका बारेमा साहित्यिक रुपमा लेखून् भन्ने चाहना राखेर सम्मेलन गरेका हौँ,’ अध्यक्ष प्रधानले भने ।

प्राकृतिक, सामाजिक र सांस्कृतिक, मौलिक र विविधतायुक्त बन्दीपुरलाई आँखाले देखेर, सुनेर र अध्ययन गरेर साहित्य रचना होस् भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको पद्मा पुस्ताकालयका संरक्षक नमस्तेलाल भूमि श्रेष्ठले बताए । मधुपर्कले ‘आँखामा मधुपर्क र मनमा बन्दीपुर’ नाम विशेषाङ्क प्रकाशित गर्ने जनाएको छ । सम्मेलनले ऐतिहासिक सिङ्गो बन्दीपुरको राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसारमा टेवा पुग्ने नेपाली लेखक सङ्घ तनहुँका अध्यक्ष तथा साहित्यकार शङ्करराज नहर्कीले बताए ।

सम्मेलनको प्रायोजकमा बन्दीपुर गाउँपालिका र सहप्रायोजकमा कुन्ती स्मृति प्रतिष्ठान रहेका थिए । सहयोगी संस्थाहरूमा क्षेत्रीय होटल सङ्घ बन्दीपुर, तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर बजार एकाइ, रेवान तनहुँ, बन्दीपुर पर्यटन विकास समिति र प्राकृतिक पर्यावरण संरक्षण मञ्च रहेका थिए । राष्ट्रिय साहित्यकार सम्मेलनको अन्तिम दिन बन्दीपुर चारबुँदे घोषणापत्र जारी गरिएको छ ।

साहित्य र कलाले प्रकृतिको संरक्षण, आमनागरिकको उत्थान र श्रमिकवर्गका दुःख, पीडा हटाउने र देशको रक्षा र समृद्धिमा केन्द्रित हुनुपर्नेलगायत विषय घोषणपत्रमा समेटिएका छन् । आज कवितावाचन, प्रवचन र नमस्ते लालभूमि श्रेष्ठद्वारा लिखित पुस्तक उपहार स्वरुप दिएर साहित्यकारलाई बिदाइ गरिएको थियो ।

प्रतिक्रिया