विदेशबाट ऋण ल्याएर देश बनाउँछु भन्ने सोचाइ गलत : महासचिव पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एमाले)का महासचिव शङ्कर पोखरेलले शासन गर्नका लागि मात्र नभई मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउनका लागि पनि नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाएको बताएका छन् ।
एमाले उद्योग-व्यवसाय विशेष जिल्ला कमिटीको आयोजनामा बुधबार यहाँ आयोजित जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले देश आर्थिक रूपमा कमजोर र सामाजिक रूपमा अराजक बन्दै गएका कारण देशका ठूला दुई राजनीतिक दल मिलेर सरकार बनाएको बताए ।
‘हामी शासन गर्नका लागि मात्र होइन, सङ्कटग्रस्त बनेको अर्थतन्त्रलाई लयमा फर्काउन, सुशासन कायम गर्न र जनतामा बढ्दै गएको निराशालाई चिर्नका लागि मिलेका हौँ,’ उनले भने ।
महासचिव पोखरेलले विदेशबाट आएको ऋण र अनुदान पनि उचित सदुपयोग हुन नसकेको भन्दै विदेशबाट ऋण ल्याएर देश बनाउँछु भन्ने सोचाइ नै गलत भएको धारणा राखे । उनले राजनीतिक दलभित्र योगदान कम र अवसरको खोजी बढी हुँदै गएपछि अवसरवाद जन्मिने गरेका भन्दै त्यसलाई परास्त गर्न विचारलाई बलियो बनाउनुपर्ने बताए ।
कुनै पनि सङ्गठन एकताबद्ध र अनुशासित भएन भने उसले उपलब्धि प्राप्त गर्न नसक्ने धारणा राख्दै महासचिव पोखरेलले बलियो साङ्ठनिक शक्ति आवश्यक रहेको बताए । उनले प्रविधि र आधुनिक यन्त्रको प्रयोग गरी देशमा उत्पादन बढाउनुपर्ने बताए ।

प्रतिक्रिया