मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाप्रति नाडाको असन्तुष्टी

नेपालखोज २०८१ फागुन १५ गते १२:२४

काठमाडौं । नेपाल अटोमोवाईल डिर्लस एसोसियसन (नाडा)ले मौद्रिक नीतिको अर्धबार्षिक समिक्षाप्रति असन्तुष्टी जनाएको छ । आर्थिक बर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाका बारेमा आफ्नो धारणा सार्वजनिक गर्दै नाडाले विद्युतीय सवारीको हकमा ऋण मूल्य अनुपातको सीमालाई ८० प्रतिशत नै कायम गर्ने व्यवस्था गर्न आग्रह गरेको हो ।

बिहिबार नाडाले बिज्ञप्तीमार्फत आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै भनेको छ, नेपाल राष्ट्र बैंङ्कले आर्थिक बर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा व्यक्तिगत सवारी साधन र सवै प्रकारका विद्युतिय सवारी साधनको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गरिनेछ भनिएको छ । यस विषयसंग प्रत्यक्ष रुपमा सरोकार राख्ने यस नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको विशेष रुपले ध्यान आकृष्ट भएको छ ।

सुस्ताएको नेपालको अटोमोवाइल व्यवसायलाई गतिशिल बनाउन यस एशोसिएशनले यस सन्दर्भमा पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरुको ऋण मूल्य अनुपातको सीमालाई ५० प्रतिशतबाट ७५ प्रतिशत पुर्याउनका लागि नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्दै आएकोमा नेपाल राष्ट्र बैंकको यस मौद्रिक नीतिको अर्धववार्षिक समिक्षामा व्यक्तिगत सवारी साधन र सवै प्रकारका विद्युतिय सवारी साधनको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गरिने भनिएको छ ।

पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनको सन्दर्भमा सो व्यवस्था सराहनिय भएता पनि हामीले थप अपेक्षा राखेका थियौ । विद्युतिय सवारी साधनको सम्बन्धमा पनि सोही व्यवस्था गरिदा विद्युतिय सवारी साधनको व्यवसायमा लागेका व्यवसायीहरुलाई भने ठूलो मर्का पर्ने अवस्था सिर्जना भएको छ ।

सरकारले नीतिगत रुपमै ग्रिन इनर्जीलाई उच्च प्राथमिकता दिने निर्णय गरी सोही अनुरुप सरकारले विगतको समय देखि नै विद्युतिय सवारी साधनलाई विशेष सुविधा समेत प्रदान गर्दे आएकोमा वर्तमान मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाले सरकारको सो नीतिलाई नै उपेक्षा गरेको देखिन्छ ।

नेपाल राष्ट्र बैंकको यस नीतिबाट विद्युतिय सवारी साधनको प्रयोगमा निश्चित रुपमा कमी आउने अवस्था आएको छ । सरकारको आफनो घोषित नीतिको पालना र विद्युतिय सवारी साधनको हकमा व्यवसायीको लगानीलाई शुरक्षित बनाउनका लागि यस अघि कै नीति अर्थात ऋण मूल्य अनुपातको सीमालाई ८० प्रतिशत नै कायम गर्ने व्यवस्थाका लागि हार्दिक अनुरोध गर्दछौ, नाडाले भनेको छ ।

प्रतिक्रिया