४९ अंकले बढ्दा ११ अर्ब ३९ करोडको कारोबार, सबै सूचक हरियो

काठमाडौं । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको प्रभाव शेयर बजारमा देखिएको छ । राष्ट्र बैंकले मङ्गलवार चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा मार्फत असल कर्जाको विद्यमान एक दशमलव १० प्रतिशतको कर्जा नोक्सानी व्यवस्थालाई एक प्रतिशतमा झारेको थियो ।
यही नीतिगत व्यवस्थाको प्रभाव शेयर बजारमा देखिएको हो । जसले गर्दा नेप्से आज बिहीबार ४९ दशमलव १५ अंकले बढेर २८ सय १५ दशमलव शून्य चार अंकमा चढेकोमा सेन्सिटि इन्डेक्स पनि नौं दशमलव ७५ अंकले बढेर चार सय ६९ दशमलव ८२ अंकमा कायम भएको छ । नेप्सेमा आज तीन सय वटा कम्पनीहरूको एक लाख १२ हजार ३२ पटकको कारोबारमा दुई करोड ६१ लाख ९९ हजार सात सय ८० कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम ११ अर्ब ३९ करोड २४ लाख एक हजार आठ सय १५ रुपैयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये सबै समुहहरुको सुचक बढेर नेप्सेमा पुरै हरियाली छाएको छ । सो मध्ये वाणिज्य बैंक समुहको सुचक ४६ अंकले बढेर १४ सय ३१ दशमलव ३४ अंकमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि ६७ दशमलव ६९ अंकले बढेर ३८ सय १८ दशमलव ९३ अंकमा चढेको छ ।
जीवन बीमा समुहको सुचक पनि एक सय १२ दशमलव ६६ अंकले बढेर १३ हजार नौं सय ५७ दशमलव शुन्य एक अंकमा चढेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ९० दशमलव ७२ अंकले बढेर १२ हजार नौं सय ५४ दशमलव १८ अंकमा चढेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि आज उच्च अंकले बढेका छन् ।
नेप्सेमा आज गार्डियन माईक्रो लाईफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी कमाउँदा भुगोल इर्नर्जी डेभलपमेन्ट लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।
प्रतिक्रिया