पाल्पामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २७ विधामा प्रतिष्पर्धा हुँदै

पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु गरिएको छ । प्रतियोगितामा नगरपालिकाभित्र रहेका सामुदायिक र संस्थागत गरी २० विद्यालयका खेलाडीले सहभागिता जनाएका छन् ।
एथ्लेटिक्स, भलिबल, कबड्डी र मार्सल आर्ट विधाका छात्रछात्रा गरी २७ विधामा प्रतिष्पर्धा हुने शिक्षा शाखा प्रमुख विकल काफ्लेले बताए । जिल्लास्तरीय प्रतियोगिताका लागि छनौट भएका विद्यार्थीलाई मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने उनले जानकारी दिए । यसभन्दा अघिल्ला वर्षमा विजेता विद्यालयलाई नगद, रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिँदै आइएको थियो ।
पाँचौ संस्करणको रूपमा शुक्रवारदेखि शुरु भएको रनिङ शिल्ड प्रतियोगिताको नगर उपप्रमुख बालकुमारी थापाले उद्घाटन गरे । स्थानीय तहमा हुने खेलकुदजन्य क्रियाकलापले खेलाडीलाई आफ्ना प्रतिभा प्रस्फुटन गर्ने अवसर मिलेको बताए । खेलको विकासका लागि नगरपालिकाले विभिन्न कार्यक्रममा सहयोग गर्दै आएको उपप्रमुख थापाले जनाए ।
विद्यालय तहबाटै खेलकुदका गतिविधि बढ्न थालेपछि खेलप्रति विद्यार्थीको उत्साह बढेको नगर खेलकूद विकास समितिका अध्यक्ष कमल सेनले बताए । यस्ता कार्यक्रमले नयाँ खेलाडी उत्पादन गर्न महत्वपूर्ण अवसर मिल्ने उनी बताउछन् । प्रतियोगिता दरैठाँटी माध्यमिक विद्यालयको खेल मैदान रामपुर-६ विजयपुरमा शुरुभएको छ ।
प्रतिक्रिया