राष्ट्रिय हितका लागि छिमेकसँगको सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्छ : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले हरेक राष्ट्रले आफ्नो राष्ट्रिय हितका लागि छिमेकसँगको सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
अमेरिका र युक्रेनबीच अमेरिकामा भएको प्रत्यक्ष वार्ताले धेरैलाई धेरै कुराको पाठ सिकाएको उल्लेख गर्दै उनले छिमेकीसँगको सम्बन्ध बिग्रँदा ठूला र शक्तिशाली देशले पनि दुःख पाउनुपर्ने उल्लेख गरे ।
अमेरिका र युक्रेनबीच अमेरिकामा भएको प्रत्यक्ष वार्ताबारे सामाजिक सञ्जाल फेसबुकमा आज आफ्नो धारणा राख्दै उनले भने, ‘छिमेककाविरूद्ध बाहिरबाट प्राप्त हुने सहयोग अस्थायी र कतिपय अर्थमा स्वार्थ आधारित हुँदोरहेछ, आज रूस र युक्रेन दुवैका लागि युद्ध घाँडो भएको छ । तर युद्ध अन्त्यका लागि उनीहरूले निकै ठूलो मूल्य चुकाउनुपर्ने अवस्था देखिँदैछ ।’
शान्ति र स्थायित्वका लागि अब हरेक देशले सोच्नुपर्ने उल्लेख गर्दै उनले क्षेत्रीय शान्तिबिना विश्वशान्ति सम्भव नहुने बताए । एसियाली देशहरूले आपसी सम्बन्धको विकासमा जोड़ दिने हो भने एसिया विश्व सभ्यताको केन्द्रका रूपमा पुनःस्थापित हुने अवस्था भएको उनको भनाइ छ ।
महासचिव पोखरेलले स्वार्थपरक नीतिले अन्ततःआर्थिक स्वार्थ आधारित नयाँ प्रकारको भू-राजनीतिक द्वन्द्वको विकास गर्ने धारणा व्यक्त गर्दै प्रकारको परिस्थितिबाट एशियाली राष्ट्र विशेष ढङ्गले सचेत बन्नुपर्ने आवश्यक औँल्याए ।

प्रतिक्रिया