खानेपानीमन्त्री यादव र भारतिय जलशक्तिमन्त्री पाटीलद्धारा वासक्षेत्रको विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका जलशक्तिमन्त्री सिआर पाटीलले सोमबार खानेपानी, सरसफाई तथा स्वच्छता (वास) क्षेत्रको विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । आज नेपाल र भारतबीच खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकासका लागि महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
भारतको राजधानी नयाँ दिल्लीमा आयोजित एक बिषेश कार्यक्रमकाबीच खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रको विकास सम्बन्धी महत्वपूर्ण समझदारीपत्रमा नेपाल सरकारकातर्फबाट मन्त्री यादव तथा भारत सरकारकातर्फबाट जलशक्तिमन्त्री सिआर पाटीलले हस्ताक्षर गरेको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठले जानकारी दिए ।
भारत गणराज्य सरकार र नेपाल सरकार दुवै देशबीच मैत्रीपूर्ण सहकार्यलाई प्रवद्र्धन गर्ने र स्वच्छता क्षेत्रमा अन्तर-सरकारी सहकार्यलाई सुदृढ गर्ने आकाङ्क्षा राख्दै, जल सुरक्षासम्बन्धी नेपाल सरकारका प्रयास तथा चिन्तालाई स्वीकार गर्दै, नेपालमा सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्दै, सुरक्षित वातावरणमा जनताको जीविकोपार्जनलाई सक्षम तुल्याउने उद्देश्य राखिएको उक्त सम्झौँतापत्रमा उल्लेख गरिएको छ ।
सम्झौतामा भूमिगतपानी व्यवस्थापन, प्रविधि तथा सूचना आदान–प्रदान, वर्षातको पानी सङ्कलन तथा मापन, प्रविधि साझेदारी, नेपाल सरकारलाई प्रविधि तथा तालिम सहयोग रहने उल्लेख गरिएको छ । उक्त सम्झौँताले भारत र नेपालबीच खानेपानी तथा सरसफाइ क्षेत्रमा आपसी सहयोग बलियो बनाउने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया