नैतिक मूल्य–मान्यता, सदाचार र योग सभ्य समाजका मेरुदण्ड हुन् : राष्ट्रपति पौडेल

नेपालखोज २०८१ फागुन १९ गते १९:४५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नैतिक मूल्य–मान्यता, सदाचार र योग सभ्य समाजको मेरुदण्ड भएको बताएका छन् । ‘सर्वोदय सेवाश्रम’द्वारा स्थापित ‘नरकान्त योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार’ वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले स्थायित्व, समृद्धि र समतामूलक समाज निर्माणका लागि यी गुणहरू अनिवार्य भएको बताए ।

राष्ट्रपति पौडेलले प्रकृति र मानवबीचको गहिरो सम्बन्धलाई आत्मसात् गर्दै, योग शिक्षा, स्वस्थ जीवनशैली र मानवसेवाका माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने उल्लेख गरे ।

उनले दुई दशकभन्दा बढी समयदेखि लमजुङमा सक्रिय सर्वोदय सेवाश्रमले योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार स्थापना गरेर उदाहरणीय काम गरेको बताए ।

नेपालको निजामती प्रशासनिक क्षेत्रमा निष्ठा, इमान्दारिता र कर्तव्यपरायणताको उदाहरणीय प्रतिमान स्थापित गरेका लमजुङ, दुराडाँडाका स्वर्गीय नरकान्त अधिकारी तथा न्याय प्रशासनको क्षेत्रमा उच्चतम इमान्दारिता, कर्तव्यनिष्ठा र क्षमताको परिचय दिएका सर्वोच्च अदालतका पूर्वन्यायाधीश, सुखौरा, तनहुँ निवासी स्वर्गीय भैरवप्रसाद उपाध्यायको सम्मानमा स्थापित यी पुरस्कारहरू उहाँहरूको योगदानको प्रतीक भएको राष्ट्रपति पौडेलले उल्लेख गरे ।

रेग्मी र उपाध्याय सम्मानित

सर्वोदय सेवाश्रमले यस वर्षको भैरव सदाचार राष्ट्रिय पुरस्कार मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र नरकान्त योग राष्ट्रिय पुरस्कार प्रा डा विद्यानाथ उपाध्याय भट्टलाई प्रदान गरेको छ । पुरस्कारको राशि जनही रु एक लाख र सम्मानपत्र रहेको छ । ती दुवै पुरस्कार राष्ट्रपति पौडेलले उहाँहरुलाई हस्तान्तरण गरे ।

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायधीश रेग्मीलाई देशको कार्यकारी र न्यायालयको सर्वोच्च पदमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पुरस्कृत गरिएको हो । यस्तै उपाध्याय भट्टले योग चिकित्सा र प्रशासनको क्षेत्रमा अतुलनीय योगदान गरेकामा पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कृत व्यक्तित्व मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले मानवता, नैतिकता र सच्चरित्रता जस्ता विषयको सिकाइ र शिक्षाबारे अध्ययन गराउन छाडिएकाले नैतिकता, सदाचार जस्ता मानवीय सच्चरित्रताका गुणहरू समाजमा ह्रासोन्मुख हुँदै गएको बताए ।

पूर्वअध्यक्ष रेग्मीले आफूले प्राप्त गरेको पुरस्कारको राशि मानवीय सेवा र सदाचारको प्रवर्द्धनमा उपयोग गर्नेगरी आफ्नै जन्मथलो पाल्पाको विद्यालयमा पढ्ने अनुशासन, सदाचार र राम्रो आचरणमा उत्कृष्ट विद्यार्थी पुरस्कृत हुने गरी समर्पण गर्ने घोषणा गरे ।

अर्का पुरस्कृत व्यक्तित्व प्राडा उपाध्याय भट्टले योग शिक्षा र योग विज्ञान हरेक मानिसको जीवनसँग जोडिएको विषय रहेको उल्लेख गर्दै योग साधना, सदाचार र नैतिक चाचरणको प्रवर्द्धनका लागि सबै जुट्नुपर्ने खाँचो औंल्याए । सर्वोदय सेवाश्रमका अध्यक्ष कृष्णराज ओलियाले योग शिक्षा, मानव स्वास्थ्य, समाजिक सेवा, नैचिक सदाचार आदि विषयमा संस्थाले काम गर्दै आएको जानकारी दिए । रासस

प्रतिक्रिया